फिल्म स्टुडियो बनाउन बोर्डले पायो साढे २ हेक्टर वन क्षेत्रको स्वामित्व

चलचित्र विकास बोर्डले लामो समयदेखि काभ्रेमा अत्याधुनिक फिल्म स्टुडियो बनाउनका लागि पहल गरिरहेको थियो । अन्ततः नेपाल सरकारले चलचित्र विकास बोर्डको स्वामित्वमा रहने गरि साढे २ हेक्टर जग्गा उपलब्ध गराएको छ ।

आज आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले जग्गा हस्तान्तरण गरे ।

बोर्डका अध्यक्ष केसीले अब चाँडै नै स्टुडियो निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढ्ने बताएका छन् । अध्यक्ष केसीका अनुसार, चालु आर्थिक बर्ष बाटै निर्माण कार्य सुरु गर्ने गरि टेन्डरको प्रक्रिया अगाडि बढाइनेछ । उनका अनुसार, अनुदानको बजेटबाट २ करोड र आन्तरिक बजेटबाट ५० लाख रुपैयाँ बजेटबाट टेन्डर आह्वान हुन लागेको हो । 

काभ्रेमा बोर्डले निर्माण गर्ने भनेको अत्याधुनिक स्टुडियोको अनुमानित लागत २७ करोड बताइएको छ । बोर्ड अध्यक्ष केसीले जग्गाको स्वामित्व बुझ्दै खुशीको दिन भएको बताएका छन् । स्टुडियोको डीपीआर समेत तयार भइसकेको छ ।