‘अगस्त्य’ले लगानी उठाएको निर्माताको दाबी, ‘च्याप्टर २’ को कथा तयार
फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले लगानी उठाएको यसका निर्माताले दाबी गरेका छन् । आज आयोजना भएको पत्रकार सम्मेलनमा दर्शकलाई धन्यवाद दिँदै निर्माता अनिष तामाङले विश्व बजारबाट फिल्मको लगानी उठेको दाबी गरे । उनले, फिल्म ‘अगस्त्यः च्याप्टर २’ सन् २०२६ मा रिलिज हुने स्पष्ट पारे ।
फिल्मको रिलिज मिति गलत भएको हो भन्ने मेरो फिल्मको प्रश्नमा उनले भने–‘यो प्रश्न आउँछ भन्ने मलाई लागेको थियो । पक्कै पनि दशैं, तिहारमा सोलो रिलिज गर्न मन कसलाई हुँदैन र ? तर, हामी हाम्रो फिल्मको व्यापारबाट सन्तुष्ट छौं । सबै कुरामा पैसामा मात्र जोडिँदैन । दर्शकले हामीलाई साथ दिनुभयो, यो ठूलो कुरा हो ।’
फिल्मका मुख्य नायक सौगात मल्लले दर्शकबाट पाएको साथले आफू उत्साहित भएको बताए । उनले भने–‘म नेपालका विभिन्न स्थानमा पुगेँ । दर्शकले मलाई खोज्नुभयो जस्तो लाग्यो र म पुगेँ । दर्शकले एकदमै धेरै माया दिनुभयो । यसका लागि आभारी छु ।’
नायिका मलिका महतले पनि फिल्मबाट आफूले निकै राम्रो प्रतिक्रिया पाएको बताइन् । उनले भनिन्–‘मलाई एकदमै धेरै म्यासेजहरु आइरहेका छन् । दर्शकले, फिल्म हेरेर फेरि प्रतिक्रिया दिनु भनेको निकै ठूलो कुरा हो । हामी यो अर्थमा लक्की छौं । किनकी, दर्शकले फिल्मलाई माया गरिदिनुभयो ।’
फिल्मका अर्का कलाकार प्रमोद अग्रहरिले पनि दर्शकबाट पाएको साथले आफू उत्साहित भएको बताए । आफ्नो भूमिकालाई निकै मन पराएर थुप्रै म्यासेजहरु पाएको प्रमोदको भनाई थियो ।
फिल्मका निर्देशक सौरभ चौधरीले त दर्शककै कारण आज आफूले खुशी साट्न पाएको बताए । यसैले, आफूहरूका लागि सबैभन्दा बढी ठूलो साथ नै दर्शकले दिएको सौरभले बताए । फिल्मका कलाकार बेन बस्नेतले पनि देशभर सौगात मल्लसँग जाँदा दर्शकको साथ उत्साहजनक रुपमा पाएको बताए ।
सौरभ चौधरीले ‘अगस्त्य’का निर्मातासँग मिलेर नयाँ फिल्म बनाउने तयारी गरेका छन् । वैशाखमा यो फिल्मको घोषणा गर्ने तयारी छ । यसपछि, भने ‘अगस्त्यः च्याप्टर २’को काम सुरु गर्ने सौरभको भनाई छ । च्याप्टर २ को पनि पहिलो ड्राफ्टको काम सकिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया