वर्षाको मिहिनेत हिजोआज पर्दामा देखिन थालेको छः संजोग कोइराला

भदौमा रिलिजमा आएको फिल्म ‘ऐँचो पैँचो’ले व्यापारिक रुपमा सफलता कमाएन । तर, यो फिल्मबाट नायिका वर्षा राउतलाई भने निकै फाइदा भयो । यो फिल्ममा वर्षाले निर्वाह गरेको जिम्मेवारपूर्ण भूमिकाले दर्शकको मन जित्यो । 

उनै, वर्षाले अभिनय गरेको अर्को फिल्म ‘महाजात्रा’ शुक्रबारदेखि रिलिजमा आउँदैछ । यो फिल्ममा पनि वर्षाले उत्कृष्ट काम गरेकी छिन् । फिल्ममा नायक विपिन कार्कीकी श्रीमतीको भूमिकामा देखिएकी वर्षाको काम धेरै सुधारिएको छ । अघिल्ला दुई सिरिजमा पर्दामा कमै मात्र देखिएकी वर्षा यसपटक भने फिल्मभरी नै छाएकी छिन् । आफ्नो भूमिकालाई उनले गज्जबले निर्वाह पनि गरेकी छिन् । 

वर्षाको काम हेरेर उनका श्रीमान् संजोग कोइराला पनि प्रभावित बनेका छन् । मंगलबार आयोजित फिल्मको प्रिमियरपछि संजोगले मिडियासँग भने–‘उसको कामको स्तर बढिरहेको छ । त्यो पर्दामा पनि देखिएको छ । हिजोआज उनले मिहिनेत पनि खुबै गरिरहेकी छिन् । यसैले, काम पनि उत्कृष्ट भएको हो ।’

वर्षाले केही हप्ता अगाडि मेरो फिल्मसँगको अन्तवार्तामा आफूलाई अब श्रीमतीको भूमिका सुहाउने बताएकी थिइन् । तर, यो कुरामा संजोगले असहमति जनाए । उनले भने–‘यो स्विकार गर्नुपर्ने कुरा नै होइन । उसलाई जुनसुकै किसिमको काम दिनुहोस्, उसले मज्जाले निभाउँछ ।’

वर्षाले फिल्म ‘मेयर’को छायांकन पनि गरिरहेकी छिन् । साथै, उनले ‘तेल भिसा र अवतार’ फिल्म पनि साइन गरेकी छिन् ।