निर्देशक हराएको सूचनाः के दीपकको फिल्ममा निर्देशक हराउँछन् ?
काठमाडौंमा जारी निफ फिल्म फेस्टिभलको चौथो दिन आज ‘निर्देशक हराएको सूचना’ नामक शीर्षकमाथि अन्तरक्रिया भएको छ । जहाँ, कलाकार तथा निर्माता दीपकराज गिरी, निर्देशकद्धय रामबाबु गुरुङ र झरना थापा सहभागी थिए ।
सहजकर्ता प्रकाश सुवेदीले दीपकराज गिरीको फिल्ममा निर्देशक हराउने गरेको आरोप लगाए । फिल्म हेर्दा दीपकराज गिरीको स्वाद आएपनि निर्देशकमा नाम अरुको नै हुने गरेको भनाई उनको थियो ।
यसमा जवाफ दिँदै दीपकराज गिरीले आफू सहमत हुन नसकेको स्पष्ट पारे । उनले भने–‘फिल्म भनेको टिमवर्क हो । त्यसलाई डोर्याउने त निर्देशकले नै हो । ड्राइभिङ सिटमा नबसे पनि सह–चालकले स्लो गरौं, साइड लगाऔं भन्छन् । बाहिरको वातावरण सह–चालकले ड्राइभरसँग शेयर गर्छ । शेयर गर्नुको मतलब सह–चालक नै ड्राइभर हुनु होइन । हामी त कहिलेकाही स्पर्टमा काम गर्ने प्राविधिकहरूसँग पनि सल्लाह लिइरहेका हुन्छौं । हरेक ठाउँबाट सल्लाह लिए पनि उक्त दृश्य राख्ने वा नराख्ने अधिकार त निर्देशकलाई नै हुन्छ । म फिल्म उत्कृष्ट बनोस् भनेर जहिले पनि निर्देशकसँग नजिक हुन्छु । त्यो चाहे दीपाजी होस् या अरु नै किन नहोस् । फिल्म साइन गर्दा नै म तपाइलाई डिस्टर्व गरिराख्छु है भनेर भन्छु । काम गरिराख्दा कुनै दृश्य अझै उत्कृष्ट हुन सक्छ कि भनेर सल्लाह दिन्छु । यसको मतलब त्यसलाई हस्तक्षेप भन्न मिल्दैन ।’
दीपकले आफ्नो फिल्ममा निर्देशक नाम मात्रको हुन्छ भनेर सुन्दा दुःख लाग्ने तर्क गरे । भने–‘वास्तवमा त्यो निर्देशकप्रतिको अन्याय हो । सुरु सुरुमा दीपा त नाम मात्रको हो, निर्देशक त दीपकराजको हो भन्थे । यो कुराले दीपाजीलाई जति दुःख लाग्छ, मलाई त्यो भन्दा दुई गुणा बढी दुःख लाग्छ । किनकी, फुटबलको मैदानमा खेलाडीले भन्दा दर्शकले स्पष्ट रुपमा देखिरहेको हुन्छ । यसको मतलब दर्शकले नै फुटबल खेल्ने भन्ने होइन । कहिलेकाही निर्देशकलाई सम्पादकले पनि कति राम्रो सल्लाह दिन्छन् । त्यतीबेला सम्पादकले बनाएको फिल्म हो भन्न पाइँदैन नी ।’
दीपकराजले फिल्म निर्माणमा सल्लाह दिनुलाई हस्तक्षेप गरेको भनेर वुझ्न नहुने स्पष्ट पारे । उनले भने–‘हाम्रो अर्को खराब बानी के छ भने, प्राविधिक रुपमा पोख्त हुनुलाई हामी निर्देशक भन्छौँ । तर, त्यस्तो होइन नी । डीओपीले कति राम्रा राम्रा दृश्यहरु खिच्छ । अब, त्यसलाई आवश्यकता अनुसार राख्ने वा नराख्ने निर्देशकको काम हो ।’
भोलिका दिनमा आफू पनि निर्देशक बन्दा दीपाश्री निरौलासँग सल्लाह लिने दीपकको भनाई छ । तर, यसको अर्थ दीपाश्रीले नै फिल्म निर्देशन गरेको हो भन्न नमिल्ने दीपकको भनाई छ ।
प्रतिक्रिया