स्टार भन्दा महंगा प्रदीप

चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’का निर्देशक हुन् प्रदीप भट्टराई । उसो त उनको परिचय यो फिल्म मात्र होइन । 

उनले निर्देशन गरेका ४ वटा फिल्मले यसअघि बक्स अफिसमा कमाल मच्चाइसकेका छन् । उनका ‘जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुष’ रिलिजमा आइसकेका छन् । यी सबै फिल्मले व्यापारिक रुपमा नाफा मात्र कमाएनन्, प्रदीपलाई पनि सफल फिल्म बनाउन सक्ने निर्देशकको रुपमा चिनायो । 

उनै, भट्टराईको काम मात्र गज्जब होइन, पारिश्रमिक पनि महँगो छ । नेपाली फिल्मका स्टारहरूले ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा सुनिन्छ । तर, प्रदीपले रिलिजमा आएका ४ फिल्मबाट कुनै सुपरस्टारको पारिश्रमिक भन्दा बढी कमाएका छन् । 

फिल्म ‘महापुरुष’बाट प्रदीपले ह्यान्डसम पैसा कमाएका छन् । उनले, फिल्ममा आफ्नो पारिश्रमिक लिँदैनन् । नाफाको प्रतिशतमा काम गर्ने भएकाले पनि प्रदीपको कमाइको उचाई बढेको हो । 

फिल्म ‘जात्रा’मा नाफाको २० प्रतिशत लिएका प्रदीपले ‘महापुरुष’सम्म आइपुग्दा ४० प्रतिशत शेयर लिएका छन् । उनै, प्रदीपले ‘महाजात्रा’ले आक्रामक कमाई गरेको खण्डमा गज्जबको शेयर बुझ्नेछन् । वुझिएअनुसार, यो फिल्ममा प्रदीपले नाफाको ५० प्रतिशत लिने पक्का भइसकेको छ । 

फिल्मको मोफसल टुरका क्रममा यसका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले आफूहरूले नाफामा गइसकेको बताएका थिए । उनका अनुसार, फिल्मको अब नेपालबाट हुने सम्पूर्ण आम्दानी नाफा हो । यसैले गर्दा, फिल्मले बम्पर व्यापार गरेको खण्डमा निर्देशक प्रदीप भट्टराईको गोजीमा ठूलै राशी भित्रनेछ । 

नेपाली फिल्म क्षेत्रमा पछिल्लो समय निर्देशकहरू पनि महंगा बन्दै गएका छन् । यो भिडमा प्रदीप भट्टराइको उछाल भने लोभलाग्दो नै छ ।