पोस्टरमा अटाइनन् गरिमा, तर दंग छिन्

म्युजिक भिडियोको मोडलबाट नायिका बन्ने क्रममा रहेकी गरिमा शर्मा दंग छिन् । उनले, अभिनय गरेको डेब्यू फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय भएपछि उनी दंग परेकी हुन् ।

अन्य फिल्मको प्रिमियरमा दौडिरहेकी गरिमा अब आफ्नै फिल्मको प्रदर्शनले उत्साहित हुनु स्वभाविक पनि हो । उनले, सपना पुरा हुने अवस्थामा रहेको भन्दै खुशी व्यक्त गरेकी हुन् । 

यो फिल्मलाई आउँदो बर्षको जेठ २५ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षको छ । फिल्मको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–कलाकार निश्चल खड्कालाई देखाइएको छ । पोस्टरमा यो जोडी रोमान्टिक देखिएको छ । 

फिल्ममा गरिमाको जोडीको रुपमा कविर खड्काले काम गरेका छन् ।  पोस्टरमा नअटाए पनि गरिमालाई अब भने काम देखाउन पाइने आशा पलाएको छ । यो फिल्म रिलिज भएपछि आफ्नो फिल्मी करिअर छुट्टै गतिमा दौडने उनको बुझाई छ । 

गरिमाले नै अभिनय गरेको फिल्म ‘ह्रस्व दीर्घ’ आउँदो बर्षको असोज ११ गतेबाट रिलिज हुँदैछ । तर, सुरुवातमा आफ्नो काम पर्दामा देखाउन पाउने भएकाले हुनसक्छ, गरिमाका लागि ‘लण्डन टू पेरिस’ विशेष बनेको छ । 

गरिमालाई अधिकांश फिल्मबाट सह–नायिकाको भूमिकामा अफर आइरहेको छ । यो फिल्म चलेपछि भने आफू मुख्य नायिकामा नै जम्ने उनको  विश्वास छ ।