म नायिकाको भूमिकामा मात्र सिमित हुन चाहन्नँः वर्षा राउत
यो बर्ष रिलिजमा आएको फिल्म ‘ऐँचो पैँचो’ व्यवसायीक रुपमा सफल नभएपनि नायिका वर्षा राउतको कामको भने निकै चर्चा भयो । यसले वर्षालाई उत्साहित पनि बनायो ।
उनै, वर्ष चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को प्रचारका क्रममा पुर्वी नेपालमा पुगेकी छिन् ।
एकातिर ‘मेयर’को छायांकन, अर्कोतिर फिल्मको प्रचार । वर्षालाई सेड्यूल मिलाउन नै हम्मे हम्मे परेको छ ।
यो फिल्ममा वर्षा श्रीमतीको भूमिकामा छिन् । उनलाई दर्शकले ‘जात्रा र जात्रै जात्रा’को सिरिजमा मन पराइसकेका छन् । ‘सम्पदा’को भूमिकामा देखिएकी वर्षाको फिल्म भित्रको संघर्ष र मिहिनेत दर्शकको रोजाइमा परिसकेको छ ।
वर्षा भन्छिन्–‘म आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच बोकेर नै यो क्षेत्रमा आएकी हुँ । म नायिकाको रुपमा मात्र सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँ । यसैले, मलाई यी भूमिकाहरू गर्न नै हुँदैन भन्ने नै लागेन ।’
उनले, केही समय फिल्म साइन नगर्दा पर्दाबाट नै हराएको भन्ने जस्ता आरोप भोग्नुपर्ने बताइन् । यसैले, आफूलाई मनपर्ने भूमिका छनोट गर्नुपर्ने उनको तर्क छ । उनले, आफूले काम गरेका पछिल्ला फिल्म भन्दा नयाँमा भूमिका फरक होस् भनेर चाहेको पनि बताइन् ।
उनको नजरमा ‘महाजात्रा’की ‘सम्पदा’ संघर्षशिल महिला हुन् । प्रदीप भट्टराई निर्देशित यो फिल्मले बक्स अफिसमा विष्फोटक व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया