‘महाजात्रा’सँग हर्क साम्पाङः बजेटमा फिल्मलाई समेट्ने प्रतिबद्धता
धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी बजेटमा नेपाली फिल्म क्षेत्रलाई सम्बोधन गर्ने गरि बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाले आज धरानमा आयोजना गरेको ‘महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा मेयर साम्पाङले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बोल्दै मेयर साम्पाङले नेपाली फिल्मको बारेमा आफूले गम्भीर रुपमा सोचेको भन्दै कतिपय कुरामा बजेटको समस्या भएको बताए । तर, आफूले सक्ने काम गर्ने बाचा उनले गरे । साथै, उनले फिल्म छायांकनका लागि सहज हुने गरि आफूले चाँडै नै सुटिङका स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्ने समेत बताएका छन् ।
उनले, आफू नेपाली कला, संकृतीको विकासमा जहिले पनि गम्भीर रहेको बताएका थिए । यस्तै, कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले मेयर साम्पाङको काम गर्ने शैलीको आफू फ्यान भएको बताए । उनले, धरानमा फिल्म ‘बलिदान’को छायांकन गरेको स्मरण गर्दै फिल्मका लागि धरान प्रमुख गन्तव्य भएको बताए ।
फिल्म ‘महाजात्रा’का कार्यकारी निर्माता रविन्द्र सिंह बानियाले स्थानीय सरकारसँग आफूहरूले ठूलो सहयोगको भन्दा पनि हातेमालोको अपेक्षा गरेको बताए । उनले, फिल्म छायांकनका क्रममा आउँदा लोकेशनदेखि थुप्रै कुराहरूमा अन्योल हुने भन्दै त्यसमा सहजीकरण गरिदिन मेयर साम्पाङसँग अनुरोध गरे ।
फिल्म ‘महाजात्रा’का नायक विपिन कार्कीले छायांकन स्थलको सहजताका लागि आग्रह गरेका थिए । उनले भने–‘कहिलेकाही छायांकन गर्दा गर्दै लफडा पर्छ । विभिन्न राजनीतिक दललाई चित्त बुझाउनुपर्छ । यसमा सहजता भयो भने काम गर्न सजिलो हुने थियो ।’
फिल्मका मुख्य कलाकार रविन्द्र झाले पनि फिल्म छायांकनका लागि स्टुडियोको आवश्यकता रहेको बताए । उनले, धरानमा पनि फिल्म स्टुडियो भएको खण्डमा काम गर्न सजिलो हुने बताए ।
नायिका वर्षा राउतले पनि लोकेशनदेखि काम गर्ने सहजताका स्थानीय सरकारले काम गर्न सक्ने बताइन् । साथै, उनले महिला कलाकारहरूलाई छायांकनका समयमा थुप्रै समस्या भोग्नुपर्ने भन्दै त्यसका लागि स्थानीय सरकारले समन्वय गर्न सक्ने बताइन् ।
कार्यक्रममा याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नबिन मेन्याङ्बो, अनाम रंगमञ्चका अध्यक्ष विजय सुब्बा, नेपाल पत्रकार महासंघ, सुनसरी अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र फिल्मको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए ।
चैत्र ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को टिम फिल्म प्रचारका लागि देश दौडाहामा छ । सोही अवसरमा चलचित्र पत्रकार संघ, सुनसरी शाखाको आयोजनामा स्थानीय सरकारसँग महाजात्राको टिमले सिनेमा संवाद गरेको हो ।
प्रतिक्रिया