सुशिल र आर्शिवादः जसले एक्सनमा नयाँ च्याप्टर कोर्न सक्छन्

नेपाली फिल्म क्षेत्र फेरि पनि एक्सनतिर ढल्कदै छ । फिल्म ‘अगस्त्य’ रिलिज भएसँगै मेकरको ध्यान एक्सनमा गएको छ । अहिले धमाधम एक्सन फिल्महरूको घोषणा भइरहेको छ । 

नेपाली फिल्ममा एक्सनको कथा खोजिरहँदा नायकहरू पनि एक्सनमा काम गर्न सक्नेको  खोजी हुनु स्वभाविक हो । 

नायक विराज भट्टले त आफ्ना छोरा समीर भट्टलाई ‘१२ गाउँ’बाट डेब्यू गराउँदैछन् । तर, यो फिल्ममा काम नगर्दै समीरको डिमाण्ड फिल्म क्षेत्रमा खुबै बढेको छ । एक्सनमा नायक प्रदीप खड्का पनि हानिएका छन् । चकलेटी यी नायकले फिल्म ‘ऐरी र पिताम्बर’मा एक्सन अवतारमा काम गर्दैछन् । 

नेपाली फिल्म क्षेत्रमा नायक सुशील श्रेष्ठको सुगठित शरीरको खुबै चर्चा भयो । फिल्म ‘होस्टेल रिटन्र्स’बाट डेब्यू गरेका सुशील यसपछि खासै चलेका छैनन् । तर, उनी नेपाली फिल्मको एक्सनमा जम्न सक्छन् । उनको नयाँ फिल्म ‘द आउट ल’को टिजर मात्र सार्वजनिक भएको छ ।

यही टिजरबाट उनको एक्सन अवतारको तारिफ भएको थियो । फिल्म अहिलेसम्म रिलिज भएको छैन । सुशिलले एक्सनमा नयाँ च्याप्टर कोर्न सक्छन् । उनी राम्रो टिमसँग परेको खण्डमा उनको करिअर नयाँ बाटोमा अगाडि बढ्न सक्ने देखिन्छ । 

फिल्म ‘नाई नभन्नु ल ६’बाट उदाएका नायक आर्शीवाद क्षेत्री पनि एक्सन फिल्ममा जम्न सक्छन् । उसो त, यो फिल्ममा एक्सनका दृश्य खासै छैनन् । तर, आर्शिवादको एक्सन खुबी देखेर नै निर्देशक विकासराज आचार्यले फिल्ममा उनको इन्ट्री नै एक्सन दृश्यबाट गरेका छन् । 

उनले आफ्नो शरीर पनि सुगठित बनाएका छन् । उनी पनि आफ्नो करिअरलाई नयाँ ढंगले अगाडि बढाउने कोशिशमा छन् । आर्शिवादले पनि आफूलाई एक्सन फिल्ममा नै ढाल्न खोजेका छन् । 

नेपाली फिल्म क्षेत्रले विस्तारै एक्सनमा लय समात्दै गर्दा यी नायकहरूको संभावना प्रबल देखिएको छ । यदि, यी दुई मेकरको नजरमा परेको खण्डमा एक्सनको नयाँ च्याप्टर कोरिन सक्छ ।