राजेश हमालले केपी ओलीसँग ‘सिनेमा संवाद’ गर्ने

चैत्रको १ गतेदेखि ५ गतेसम्म चल्ने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल(निफ)मा नायक राजेश हमालले ‘सिनेमा संवाद’ गर्ने विषयमा अन्तरक्रिया गर्ने भएका छन् । चैत्र २ गते बिहान ११ बजेबाट १ बजेसम्म नायक हमालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका हुन् । 

राष्ट्रिय सभा गृहमा ओली र हमालबीच संवाद हुने निफका अध्यक्ष केपी पाठकले जानकारी दिए । उनका अनुसार, दर्शकले निःशुल्क रुपमा यो संवाद सुन्न पाउनेछन् । 

महोत्सवमा निर्देशन शिल्प, नेपाली फिल्मको बजार, फिल्म समीक्षा र एआइको भविष्यसम्मको विषयमा छलफल हुनेछ । 

महोत्सवको उद्‍घाटनको दिन गायिका आनी छोइङ डोल्माको ‘आनी छोइङ डोल्माः नथिङ इम्पोसिबल’ प्रदर्शन गरिनेछ । यो साल ४० देशका ८८ फिल्म प्रदर्शन गरिने आयोजकले बताएको छ ।