महाजात्राः विपिन कार्कीलाई दर्शक फर्काउने अवसर
चैत्रको ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘महाजात्रा’मा सबैको ध्यान केन्द्रित छ । बक्स अफिसमा बम्पर कलेक्शन गर्छ भन्ने आशा आम फिल्मीकर्मीलाई छ । यो फिल्मको प्रचारमा पनि निर्माणपक्षले निकै नै ध्यान दिइरहेको छ । नेपाल भ्रमण गर्दै दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने निर्माण टिमको अभियान जारी छ ।
यो फिल्मको मुख्य भूमिकामा नायक विपिन कार्की छन् । यो बर्ष विपिनको दुई वटा फिल्म रिलिजमा आइसकेका छन् । तर, दुबै फिल्मको व्यापारले विपिनलाई निराश बनाएको छ ।
‘प्रसाद २ र एक भागवत एक गीता’को व्यापारले विपिन कार्कीको स्टारडममाथि नै प्रश्न उठेको छ । ‘महाजात्रा’को व्यापार विपिनका लागि पनि ठूलो राहत हुनेछ ।
निर्देशक प्रदीप भट्टराईले यसअघि ४ वटा हिट फिल्म दिइसकेका छन् । जसमा, ‘जात्रा र जात्रै जात्रा’ पनि पर्छन् । दर्शकको विश्वास जितेका निर्देशक र मेकर सफल भएको उदाहरण थुप्रै छ । यसैले, प्रदीप र उनको टिममाथि पनि दर्शकले विश्वास गर्ने देखिन्छ ।
रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्रीको लगानी छ । फिल्ममा यसपटक हरिवंश आचार्यको प्रवेश भएको छ ।
हरिवंशको नामले पनि फिल्मको व्यापार आक्रामक हुने गरेको छ । साथमा फिल्ममा वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, राजाराम पौडेल, दिव्य देव लगायतको पनि अभिनय छ ।
सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकलाई आकर्षित गरिसकेको छ । यसैले, चैत्र ९ पछि २ साता विना अवरोध रिलिजको अवसर पाएको फिल्मले बक्स अफिसमा धमका मच्चाउने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया