हतारमा रिलिजपछि समय घटाएर के काम ?

नेपाली फिल्मका निर्देशकहरूलाई खिचेका सबै दृश्य समावेश गर्ने लोभ देखिएको छ । जसकाकारण, फिल्म रिलिज भइसकेपछि दर्शक र समीक्षकले लामो भएको प्रतिक्रिया दिएपछि मात्र उनीहरुको आँखा खुल्ने गरेको छ । 

फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’को लम्बाइ २ घन्टा ५० मिनेटको थियो । दर्शकले हलमा करिब ३ घन्टा बिताइरहँदा फिल्म लामो भएको प्रतिक्रिया दिए । समीक्षक तथा पत्रकारहरूले त प्रिमियरमा हेरेपछि फिल्म लामो भएको प्रतिक्रिया दिएका थिए ।

तर, यसको निर्माणपक्षले फिल्मको लम्बाइ घटाएन । दर्शकसम्म २ घन्टा ५० मिनेट लामो फिल्म नै प्रस्तुत गर्यो । फिल्मको पहिलो हाफको चर्को आलोचना भयो । दोस्रो हाफलाई भने दर्शकले पनि निकै मन पराए । 

फिल्म रिलिजको दुई सातापछि यसको निर्माणपक्षले लम्बाइ घटाएको छ । फिल्म अब साढे २ घण्टाको बनाएर हलमा लगाइएको छ । तर, रिलिजको दुई सातापछि लम्बाइ घटाउँदा खासै अर्थ देखिंदैन । यदि, सुरुवातमै यो काम गरिएको भए फिल्मको व्यापारमा अझै फाइदा हुने थियो । 

यस्तै, फागुनको २५ गतेबाट रिलिजमा आएको फिल्म ‘रङ्गेली’को अवस्था पनि उस्तै छ । यो फिल्म पनि २ घन्टा ५१ मिनेटसहित हलमा लाग्यो । निर्देशक अर्जुन सुवेदीले  प्रिमियरमा फिल्मको लम्बाइ घटाउने सुझाव नपाएका होइनन् । तर, हलमा फिल्म लागेपछि मात्र उनको आँखा खुल्यो ।

दर्शकले फिल्मको लम्बाइ बढी हुँदा सुस्त भएको प्रतिक्रिया दिए । अब, फिल्म रिलिजको ३ दिनपछि २ घन्टा ३० मिनेटको बनाएर फिल्म रिलिज गरिएको छ । फिल्मको लम्बाइ २१ मिनेट घटाइएको छ । नेपाली फिल्मका दर्शकले लामो फिल्म हेर्न नचाहेको बुझेर नै आफूले लम्बाइ घटाएको अर्जुनको भनाई छ । 

यी दुबै फिल्म हतारमा रिलिज गरिएका हुन् । फिल्म रिलिजको अघिल्लो दिनसम्म ‘अगस्त्य र रङ्गेली’को प्राविधिक काम सकिएको थिएन । यसैले, हतारमा रिलिज गर्दा दुबै फिल्मका निर्देशकले फिल्मलाई राम्रोसँग हेर्न पनि पाएनन् । जसको असर, दुबैको इनिसियल बक्स अफिसमा परेको छ ।