यस्तो छ ‘पुजार सार्की’मा प्रदीपको ‘मैत बहादुर’ लुक्स

नायक प्रदीप खड्काको जन्मदिनको अवसर पारेर फिल्म ‘पुजार सार्की’को टिमले उनको लुक्स सार्वजनिक गरेको छ । कास्कीको कास्कीकोटमा छायांकन भइरहेको फिल्मको टिमले प्रदीपको पात्र परिचय गराएको हो । यो फिल्ममा प्रदीप ‘मैत बहादुर’को भूमिकामा देखिदैछन् ।

निर्देशक दिनेश राउतले सामाजिक संजालबाट प्रदीपको गेटअप सार्वजनिक गरेका हुन् । फोटोमा नायक खड्का लामो कपाल पालेका, कालो टोपी पछाडि ढल्काएर दमाहा बजाउँदै गरेको देख्न सकिन्छ ।



फिल्ममा उनी दमाहा बजाउने पात्रको भूमिकामा देखिएको प्रष्ट हुन्छ । यो फिल्मलाई जातीय विभेद विरुद्ध तीन पात्रहरूले गर्ने साझा संघर्षको कथामा तयार पारिएको छ । 

निर्देशक राउतले ‘मैत बहादुर’को थर भने खुलाएका छैनन् । यसको अर्थ, प्रदीपले निभाएको चरित्र पहिचानको संघर्षमा हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा प्रदीपको साथमा आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा लगायतका कलाकारको अभिनय छ । सुवास भुसालले निर्माण गरिरहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन ।