‘उपहार’को सुखद सुरुवात, दर्शक भन्छन्–‘हसाउँदा हसाउँदै रुवायो’

आज शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘उपहार’ले बिहानी शोमा सुखद सुरुवात गरेको छ । आज बिहानैबाट काठमाडौं लगायत देशभरका हलमा दर्शकको अकुपेन्सी उच्च देखिएको छ । 

बीग मुभिजको बिहान पौने ८ बजेको शोमा दर्शकको चाप उच्च देखियो । फिल्म हेरेर आएका अधिकांश दर्शकले यसको विषयवस्तु, कमेडी र कलाकारको अभिनयको खुलेरै तारिफ गरे । दर्शकले भने–‘फिल्मले अहिलेको समसामयिक विषयवस्तुलाई उठाएको छ । साथमा, यसको कमेडी गज्जबको छ । लामो समयपछि एउटा रमाइलो र मीठो कथामा फिल्म हेर्न पाइयो ।’

दर्शकले फिल्म मन पराएपछि नायिकाद्धय पूजा शर्मा र बेनिशा हमाल उत्साहित देखिए । उनीहरुले, देशभरका हलमा दर्शकको चाप उच्च रहेको र सुखद प्रतिक्रिया पाएको भन्दै खुशी व्यक्त गरे । 

फिल्मका नायकहरू मुकुन भुसाल, समर्पण जंग कार्की पनि निकै खुशी देखिएका थिए । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले बिहानैबाट दर्शकको चाप हलमा देखिएको र उत्कृष्ट प्रतिक्रिया पाएको भन्दै आफूहरूको मिहिनेत सफल हुने बाटोमा रहेको बताए । 

फिल्मका वितरक करण श्रेष्ठले थुप्रै हलमा बिहानी शोमा दर्शकको चाप उच्च रहेको भन्दै यसलाई सुरुवात मात्र भनेका छन् । उनले, केही हलमा लामो समयपछि बिहानी शोमा दर्शक आएको समेत बताए । 

नायिका रेखा थापाले अमेरिकाबाट खुशी व्यक्त गरिन् । उनले, फिल्मलाई दर्शकले मन पराएको सुनेर खुशी लागेको सुनाइन् । 

फिल्मको दिवा र रात्रिकालीन शोहरुमा समेत दर्शकको चाप उच्च देखिएको छ । यसैले, आजको व्यापार फिल्मको सुखद हुने पक्का छ ।