‘उपहार’लाई प्रिमियरमा तारिफ नै तारिफ
भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘उपहार’लाई प्रिमियरमा तारिफ नै तारिफ मिलेको छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्मको प्रिमियरमा पुगेका निर्देशक सुदर्शन थापाले कमर्सियल फिल्म कस्तो हो भनेर ‘उपहार’ले बताउने तर्क गरे । उनले भने–‘नेपाली फिल्ममा विभिन्न धारका फिल्म भन्ने सुनिन्छ । तर, फिल्मको एउटै धार हुन्छ, मूलधार । यो पूर्ण रुपमा मूलधारमा बनेको फिल्म हो । यसले उठाएको विषयवस्तु, प्रस्तुति, कलाकारको अभिनय सबै उत्कृष्ट छ ।’
यस्तै, फिल्म निर्देशक शोभित बस्नेतले पनि नेपाली फिल्म क्षेत्रमा अर्कै ट्रयाकमा भड्किरहेको समयमा ‘उपहार’ले फेरि सही बाटोमा ल्याएको बताए । उनले, आम दर्शकले हेर्न चाहने फिल्म नै ‘उपहार’ जस्तो भएको बताउँदै कलाकारको अभिनयको पनि प्रशंसा गरे ।
फिल्म हेर्नका लागि नायक, नायिका, निर्देशक, प्राविधिकहरू हलमा पुगेका थिए । मेरो फिल्मसँग प्रतिक्रिया दिँदै मोडल उषा उप्रेतीले पनि यो फिल्मको कथा हेर्दा आफ्नो संघर्षको दिन सम्झिइन् । सबै कलाकारको उत्कृष्ट काम रहेको भन्दै उनले पनि प्रशंसा गरिन् ।
फिल्मीकर्मी र पत्रकारहरूबाट पाएको प्रतिक्रियाले निर्देशक ज्ञानेन्द्र देउजा, नायिकाद्धय पूजा शर्मा र बेनिशा हमाल उत्साहित देखिए । उनीहरुले, सुरुवातमा कस्तो प्रतिक्रिया आउने हो भनेर डर लागेको बताउँदै सबैले राम्रो भन्दा खुशी लागेको सुनाए । निर्देशक ज्ञानेन्द्र देउजाले दर्शकलाई आफूले निराश नबनाउने प्रतिक्रिया दिए ।
फिल्मकी मुख्य नायिका रेखा थापाले भने भिडियो सन्देशमार्फत सबैलाई धन्यवाद दिएकी थिइन् । फिल्ममा मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा लगायतको पनि अभिनय छ ।
प्रतिक्रिया