स्वस्तिमा र निश्चलले सुरु गरे ‘बेहुली फ्रेम मेघौली’को छायांकन

फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन आजबाट चितवनमा सुरु भएको छ । चितवनको मेघौलीमा एक महिना फिल्म खिचिनेछ । 

यो फिल्मलाई नायिका स्वस्तिमा खड्काले निर्माण गर्दैछिन् । उनीसँगै उनका श्रीमान् कलाकार निश्चल बस्नेतले निर्माणमा सहकार्य गर्दैछन् । फिल्मका कार्यकारी निर्माता शंकर पाण्डेको अनुसार मेघौलीमा एक महिनासम्म फिल्म खिचिनेछ । शुभसाइतसँगै केही दृश्यको छायांकन आज गरिएको पाण्डेले बताए । 

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार हुने फिल्ममा स्वस्तिमा र निश्चल नै मुख्य भूमिकामा छन् । फिल्ममा विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको पनि अभिनय छ । 

यो फिल्मलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ । यो फिल्मलाई कमेडी कथामा निर्माण गर्ने तयारी गरिएको छ । फिल्मको कार्यकारी निर्मातामा पाण्डेसँगै फिरोज खड्का छन् । 

कलाकार तथा निर्माता निश्चल बस्नेतले यसपछि आफ्नै निर्देशनमा एक्सन फिल्म बनाउँदैछन् । उनले, वि.सं २०८३ सालमा फिल्म ‘दिमाग खराब २’ रिलिज गर्ने घोषणा समेत गरिसकेका छन् । 

आफ्नै होम प्रोडक्शनको फिल्म भएका कारण स्वस्तिमाले नयाँ फिल्म पनि साइन गरेकी छैनन् । 

तस्वीरः केशव पाण्डे