बढ्दैछन् ‘अगस्त्य’मा दर्शक
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ हेर्नका लागि दर्शकको संख्या बढिरहेको छ । शुक्रबार औषत र शनिबार सुखद कमाई गरेको फिल्मको व्यापार आइतबारदेखि पनि निराश हुनुपर्ने खालको छैन ।
आइतबारदेखि हलमा दर्शकको अकुपेन्सी झनै सुखद बनेको निर्माणपक्षले बताएको छ । विशेषगरि, फिल्मको वर्ड अफ माउथका कारण यसको व्यापार बढेको हो । फिल्मलाई समीक्षकले कमजोर रेटिङ दिएका छन् । तर, दर्शकको वर्ड अफ माउथ भने सुखद रहेकाले दर्शकको अकुपेन्सी कम देखिएको छैन ।
फिल्म रिलिज भएको पाँचौ दिनमा पनि दर्शकको अकुपेन्सीको दर एउटै हुनु सुखद कुरा हो । फिल्मका निर्देशक तथा लेखक सौरभ चौधरीले मंगलबार एफक्यूब हलका ५ वटा शोज नै हाउसफुल भएको बताएका छन् ।
मंसिरदेखि लागेको बक्स अफिस खडेरीलाई यो फिल्मले चिर्ने अपेक्षा गरिएको थियो । फिल्मको व्यापार दोस्रो सातामा अझै सुखद हुने विश्वास गरिएको छ । दोस्रो सातामा केही सार्वजनिक बिदा परेकाले पनि दर्शकको उपस्थिति बलियो हुने विश्वास गरिएको हो ।
तर, कुनै बिदा नहुँदा पनि फिल्मको दिवा तथा रात्रि शोजमा दर्शकको उपस्थिति बलियो हुनुले यो फिल्म लामो रेशको घोडा बन्न सक्ने आँकलन गर्न थालिएको छ ।
फिल्मको मेकिङ, सस्पेन्स पाटो, कलाकारको अभिनय र कथावस्तुलाई दर्शकले मन पराएका छन् । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
यो फिल्मको सेकेन्ड च्याप्टरलाई २ बर्षपछि रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ । फिल्मको अन्तिममा ‘को हुन् गणेश’ भन्ने सस्पेन्स राखिएको छ । यसले पनि दर्शकलाई खुलदुली बनाइरहेको छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माताको रुपमा छन् ।
प्रतिक्रिया