‘काँडेतार’को प्रिमियरमा नेतादेखि फिल्मीकर्मीसम्म

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । फिल्मको प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए । यस्तै, फिल्म हेर्न विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरु हलमा पुगेका थिए । 

नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले सिमानाको कथा भन्छ । फिल्मले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्ने विषयलाई उठान गरेको छ । फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए । 

यो फिल्ममा नवल खड्काको साथमा गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, मुरलिधर लगायतका कलाकारको अभिनय छ । 

फिल्म हेरेपछि नेता खनालले भने–‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन् । यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ ।’

फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए ।