लथालिङ्ग प्रिमियर

नेपाली फिल्म रिलिजको केही दिन अगाडि प्रिमियरको आयोजना हुने गर्छन् । तर, नेपाली फिल्मका मेकरले प्रिमियर कसका लागि गर्ने र किन गर्ने भन्ने ज्ञान नभएको देखिन्छ । जसकाकारण, प्रिमियर आयोजना भएपनि लथालिङ्ग हुने गरेका छन् । 

मंगलबार आयोजना भएको फिल्म ‘काँडेतार’को प्रिमियर पनि यस्तै देखियो । विश्वज्योती हलको एउटा मात्र पर्दामा प्रिमियर आयोजना हुँदा फिल्म हेर्न निमन्त्रणा गरिएका अधिकांश पत्रकारले फिल्म नै हेर्न पाएनन् ।

फिल्मका निर्माता तथा निर्देशक नवल खड्का नेता र आफन्तको पछि लाग्दा फिल्मको बारेमा बोलिदिने पत्रकार नै फिल्म नहेरी फर्किए । पुगेका केही अतिथीहरुले पनि भूँइमा बसेर फिल्म हेर्नु परेको थियो । 

प्रिमियरमा यस्तो समस्या थुप्रै फिल्ममा देखिन थालेको छ । फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा पनि यस्तै भयो । निर्देशक मिलन चाम्सले प्रिमियर भव्य गरे । प्रिमियरका लागि गरिएको सजावट गज्जब थियो । तर, एउटा मात्र हल बुक गर्दा अतिथीहरुले फिल्म नै नहेरी फर्किनु परेको  थियो । सिट नपाउँदा धेरैलाई समस्या भयो । 

नेपाली फिल्मको प्रिमियरमा मेकरले कति मानिस पुग्छन्, हलमा पाहुना अट्ने क्षमता छ या छैन भन्ने बुझ्दैनन् । 

फिल्म ‘हात्तीछाप’को प्रिमियरमा पनि यस्तै समस्या भयो । फिल्मीकर्मी भन्दा बढी आफन्त र साथीहरूलाई मेकरले निमन्त्रणा गर्दा सिटको अभाव भयो । फिल्मी पत्रकार र फिल्मीकर्मीले नै फिल्म हेर्न नपाउँदा, प्रिमियरको औचित्य के हो भन्ने बुझ्न आवश्यक छ । 

नेपाली फिल्म क्षेत्रमा प्रिमियरहरु लथालिङ्ग हुने गरेका छन् । तर, अझै पनि मेकरले यसको अर्थ र महत्व बुझ्न सकेका छैनन् ।