मलाई टिनएजरको भूमिका सुहाउँदैनः बेनिशा हमाल

नायिका बेनिशा हमालले आफूलाई टिनएजरको भूमिका नसुहाउने भएकाले नै फिल्म ‘उपहार’मा वकिलको भूमिका रोजेको बताएकी छिन् । सुरुवातमा निर्देशक ज्ञानेन्द्र देउजाले उनलाई नायिका पूजा शर्माले गरेको भूमिकाका लागि अफर गरेका थिए । तर, बेनिशाले भने यस्तो भूमिका आफूलाई नसुहाउने बताउँदै वकिलको भूमिका रोजेकी थिइन् । 

मेरो फिल्मसँग कुराकानी गर्दै उनले भनिन्–‘मलाई अब टिनएजरको भूमिका सुहाउँदैन । मैले यो उमेर पार गरिसकेको छु । अब, कि त मलाई बलिउडमा दीपका पादुकोणले ‘छपक’मा गरेको जस्तो १९ बर्षको देखाउन सक्नुपर्यो । भीएफएक्स उच्च रुपमा प्रयोग गरेर मलाई देखाउन सक्ने हो भने ठिक छ, होइन भने सामान्य तरिकाले अब मलाई यो भूमिका सुहाउँदैन ।’ बेनिशाले अब सामान्य तरिकाले यस्तो भूमिका नगर्ने तर्क गरिन् । 



बेनिशाले वकिलको भूमिका आफूलाई मन परेर नै काम गरेको बताइन् । यस्तै, उनले अब आफूले फिल्मको व्यापारमा पनि ध्यान दिन थालेको बताइन् । भनिन्–‘मैले अब फिल्मको व्यापार पनि राम्रो हुनुपर्छ भन्ने बुझेकी छु । पहिले मलाई यो लाग्दैनथ्यो । तर, अहिले फिल्मले राम्रो व्यापार गरोस् भनेर म पूजा नै गर्छु । फिल्मको व्यापार महत्वपूर्ण हुने रहेछ भन्ने मैले बुझेको छु ।’

बेनिशाले हालै मात्र हिन्दी फिल्म ‘दुर्गम’को छायांकन सकेर फर्किएकी छिन् । उनले, नेपाली र हिन्दी फिल्म छायांकनका क्रममा आफूले धेरै नै भिन्नता पाएको समेत बताइन् । यो फिल्मको अझै ३ दिनको छायांकन बाँकी रहेको उनको भनाई छ । 

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’मा बेनिशाको साथमा रेखा थापा, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की लगायतको अभिनय छ ।