‘अगस्त्य’पछि ‘रङ्गेली’का लागि दर्शकले हलमा ३ घन्टा बिताउनुपर्ने
फिल्मले दर्शकलाई होल्ड गर्न सक्यो भने साढे ३ घन्टाको फिल्मले पनि आक्रामक व्यापार गर्छ भन्ने उदाहरण बलिउड फिल्म ‘एनिमल’ बनिसकेको छ । यसैले, फिल्मको अवधि कति छ भन्दा पनि कस्तो छ भन्ने कुराले महत्वपूर्ण भूमिका राखेको देखिन्छ । तर, फिल्म कमजोर भयो भने दर्शकलाई २ घन्टा पनि हलमा बिताउन समस्या पर्छ ।
फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’ २ घन्टा ५० मिनेटको छ । यो फिल्म हेर्नका लागि दर्शकले हलमा करिब ३ घन्टा बिताएका छन् ।
फिल्मका निर्देशक सौरभ चौधरी समीक्षकका विभिन्न खालका प्रतिक्रिया आएपनि दर्शकले भने निकै मन पराएको तर्क गर्छन् । दर्शकले कही कतै पनि फिल्म लामो लागेको प्रतिक्रिया नदिएको उनी बताउँछन् ।
अब, फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’ पनि करिब ३ घण्टाकै बनेको छ । फिल्मका निर्देशक अर्जुन सुवेदीका अनुसार, फिल्मको पुरा लम्बाइ २ घन्टा ५५ मिनेटको छ । जसमध्ये ५ मिनेट क्रेडिट मात्र छ । फिल्म भने २ घन्टा ५० मिनेटको रहेको उनले बताए ।
यो फिल्म हेर्न पनि दर्शकले हलमा ३ घन्टा बढी नै समय बिताउनुपर्ने हुन्छ । दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतका कलाकारले अभिनय गरेको फिल्मले दर्शकलाई ३ घन्टा पूर्ण रुपमा होल्ड गर्ने दाबी निर्देशक सुवेदीको छ ।
सेन्सरमा केही झमेला व्यहोरेपनि निर्माणपक्षले अब भने निर्धक्क भएर फिल्म रिलिज गर्ने तयारी गरेको छ । फिल्मले ग्याङस्टारको कथा भन्छ । यही मितिमा रिलिज हुन लागेको अर्को फिल्म ‘उपहार’को समय अवधि भने करिब साढे २ घन्टाको छ ।
प्रतिक्रिया