‘महाजात्रा’को टिमका सबै फिल्म हिट, तर १० करोड माथि किन हुँदैन व्यापार ?

षट्कोण आर्टसले निर्माण गरेका ४ फिल्म मध्ये ३ फिल्म रिलिज भइसकेका छन् । ‘जात्रा, जात्रै जात्रा र महापुरुष’ हलमा लागिसके । तीनै वटा फिल्मको व्यापार पनि सुखद भयो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएका यी तीन फिल्मले दर्शकको राम्रै साथ पाए । 

तर, यी तिनै फिल्मको व्यापार १० करोड भन्दा तल नै छ । हिट फिल्म ‘महापुरुष’ले १० करोडको व्यापार गरेको भन्दै यो टिमले केक त काट्यो, तर विकास बोर्डको आँकडामा फिल्मको व्यापार साढे ७ करोड वरपर देखियो । 

फिल्म हिट भएपनि व्यापारको एउटा बम्पर छलाङ भने यो टिमले मार्न सकेको छैन । प्रदीप भट्टराईले नै निर्देशन गरेको फिल्म ‘शत्रु गते’ले १० करोडको व्यापार गरेको थियो । जुन फिल्मलाई किरण केसी र उनको टिमले बनाएको थियो । 

फिल्म ‘महाजात्रा’ले यसपटक यो घेरा तोड्ने विश्वास निर्माणपक्षको छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँको कुरालाई सुन्ने हो भने पनि, उनी आफूहरूको प्रतिस्पर्धा आफ्नै फिल्मसँग भएको बताउँछन् । आफ्नो टिमको अघिल्लो फिल्मको व्यापारलाई तोड्ने योजना भने आफूहरूले सधैं बनाउने उनको भनाई छ । 

अर्थात्, उनीहरू यसपटक फिल्म ‘महापुरुष’को रेकर्ड तोड्न चाहन्छन् । तर, बाहिर जे कुरा गरेपनि यो टिमलाई व्यापारको उच्चतम रेकर्ड बनाउने चाहना यसपटक अझै बढेको छ । यो बर्ष सर्वाधिक व्यापार गर्ने फिल्म ‘जारी’ हो । फिल्मले १७ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । यो बर्ष ‘जारी’को रेकर्ड तोड्न सक्ने फिल्मको रुपमा ‘महापुरुष’लाई हेरिएको छ । 

फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको हाइप अझै बढेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, रामचन्द्र पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ । फिल्मका निर्माता म्याक्स दीपेश खत्री राम्रो फिल्म बनाएकाले सबैले उच्च व्यापारका लागि पूजापाठ गर्नुपर्ने बताउँछन् । 

अब, दर्शकले साथ दिएको खण्डमा यो फिल्मले बिष्फोटक व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । चैत्र ९ पछि नयाँ फिल्म २ साता रिलिज नहुने भएकाले पनि यो फिल्मलाई बम्पर व्यापारको अवसर छ ।