एक्कासी बन्द भयो ‘मुन्द्रेको कमेडी क्लब’

कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजनको प्रशारण पनि बन्द भएको छ । यो कार्यक्रमका संचालक जितु नेपालले शोको प्रशारण बन्द भएको जानकारी दिएका छन् । तर, एक्कासि शो बन्द गर्नुपर्ने कारण भने  उनले खुलाएका छैनन् । उनले, यस विषयमा पछि मात्र जानकारी दिने बताएका छन् । 

यो शोलाई ३ सिजन गरेर १८४ भाग प्रशारण गरेको पनि जितुले उल्लेख गरेका छन् । यो शोमा अध्यक्ष पनि तीन सिजनमै फेरिएका थिए । पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्कीले शोको अध्यक्षता ग्रहण गरेका थिए । 

‘मुन्द्रेको कमेडी क्लब’बाट प्रशारण भएका भागहरु कुनै चर्चामा रहे भने अधिकांशले दर्शकको ध्यान खिच्न सकेनन् । विशेषगरि, शोमा प्रस्तुत हुने विषयवस्तुले कमेडीको प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्न सकेनन् । 

यो शोलाई ‘कमेडी नाइट्स विथ कपिल’ शोको शैलीमा तयार पारिएको  थियो । पहिलो सिजनमा अध्यक्ष दीपाश्री निरौलासँग विवाद भएपछि शो बन्द भएको थियो ।

यसपछि, जितु र दीपाश्रीको टिमविच नै असमझदारी पैदा भएको थियो । यही शोका कारण दीपकराज गिरी र उनको टिमबाट जितु नेपाल बाहिरिएका थिए ।