३ फिल्मका निर्माताको दाबी–‘व्यापार करोड माथि’
कार्तिकको २४ गते रिलिजमा आएको फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नेपाली फिल्मका लागि दर्शकको अकुपेन्सी हलमा उच्च छैन ।
निर्माताहरूले सामाजिक संजालमा जसोतसो हल भरिएको भिडियो सार्वजनिक गरेपनि, त्यतीले मात्र पर्याप्त व्यापार हुँदैन । तर, फिल्मका निर्माताले पनि करोड भन्दा बढीको आँकडा सार्वजनिक गरिरहेका छन् ।
माघको २६ गतेबाट रिलिजमा आएको फिल्म ‘दयारानी’का निर्माताले फिल्मले दुई सातामै साढे २ करोड ग्रस कलेक्शन गरेको भन्दै ‘हिट’को ट्याग दिए । तर, यो फिल्म हेर्न हलमा पुगेका दर्शकको अकुपेन्सीले निर्माताले दिएको व्यापार पत्याइहाल्ने अवस्था थिएन ।
फिल्म ‘गोर्खा वारियर’को टिमले पनि रिलिजको तीन दिनमै १ करोड ५० लाख हारहारीको व्यापार सार्वजनिक गर्यो । यसपछि, फिल्मको नयाँ आँकडा सार्वजनिक भएको छैन ।
फिल्मको पनि देशभरका अधिकांश हलमा व्यापार उत्साहजनक छैन । हरेक दिन कुनै न कुनै हलका केही शोजमा दर्शकको चाप देखिएको छ । जुन, सुखद व्यापारका लागि पर्याप्त छैन ।
यता, फागुनको १८ गतेबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य’को निर्माणपक्षले पनि दुई दिनमा फिल्मले १ करोड २० लाख ग्रस कलेक्शन गरेको आँकडा सार्वजनिक गरेको छ ।
फिल्मले शुक्रबार र शनिबार ठीकठाकको व्यापार गरेको छ । आइतबारबाट भने व्यापारमा गिरावट आएको छ । निर्माणपक्षले सार्वजनिक गरेको आँकडा अनुसार, फिल्मले दुई दिनमा थुप्रै शोजमा हाउसफूलको व्यापार गर्नुपर्ने हुन्छ । तर, त्यस्तो देखिएको थिएन ।
चलचित्र विकास बोर्डले फिल्मको आँकडा सार्वजनिक गर्न छाडेपछि निर्माताहरूले फिल्मको हाइप बढाउनका लागि नै व्यापार मनखुसी सार्वजनिक गरिरहेका छन् । चलचित्र विकास बोर्डले आँकडा सार्वजनिक गर्दा धेरै निर्माताको निन्द्रा गायब भएको थियो । तर, अहिले फेरि निर्माताहरू व्यापार बढाउनमा तल्लीन देखिएका छन् ।
प्रतिक्रिया