‘कर्णाली अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ को २ दिने कार्यक्रम सम्पन्न

काठमाडौंमा शुरु भएको ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८०’ को दुई दिने विशेष कार्यक्रम सम्पन्न भएको छ । महोत्सवलाई उप प्रधान तथा रक्षा मन्त्री पूर्ण बहादुर खड्काले एक भव्य समारोहका बीच समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा निकै खुल्ला रुपमा प्रस्तुत भएका उपप्रधानमन्त्री खड्काले फिल्मबारे धेरै कुरा व्याख्या गर्दै फिल्म ऐनलाई बोर्ड अध्यक्ष भुवन केसीले  जुन दिन मन्त्रिपरिषदमा पुर्याउँछन्, सोही दिन पास गर्ने भनी अध्यक्षलाई हौसला दिएका थिए । 

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने उद्देश्यका साथ शुक्रवारदेखि सुरु भएको महोत्सवको लक्ष्य कर्णालीका कथा, कला, रीतिरिवाज, भाषा, भेसभुसा, परम्परा र संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरी प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, धार्मिक स्थल तथा सम्पदाहरूलाई संसारभर चिनाउने अभियान समेत रहेको महोत्सव  निर्देशक चलचित्र कार्यकारी निर्माता चक्र बहादुर चन्दले बताए ।

नेपाली चलचित्रलाई कर्णालीमा छायाङ्कन गर्न सहज वातावरण बनाउन सहजीकरणको भूमिका निर्वाह गर्नका लागी कर्णालीका स्थानीय तह प्रदेश सभा र केन्द्रका जिम्मेवार व्यक्तिलाई  सहभागी गराई महोत्सव सम्पन्न भएको थियो । 

उद्घाटन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले नेपाली फिल्मको विकासका लागी सधैँ लागी परेको बताउँदै कर्णाली फिल्म महोत्सवको सफलताको शुभकामना दिँदै यस महोत्सवले कर्णालीमा फिल्मको ढोका खोल्ने बिचार व्यक्त गरेका थिए । आफू यो महोत्सवलाई सफल बनाउन सधैं सहयोगी भूमिका निभाउने बताए । 

महोत्सवको पहिलो दिन कर्णालीमा फिल्म र पर्यटन विषयमा सेसन भएको थियो । जसमा सांसद ज्ञानेन्द्र शाही, गाउँपालिका अध्यक्ष टोप बहादुर बीसी, पर्यटन बिकास बोर्डका प्रबन्धक सूर्य थपलिया, नायिका सुरक्षा पन्तको प्यानल छलफलमा बिबिध बिधामा छलफल भएको थियो ।  

कार्यक्रममा कर्णालीमा छायांकन भएको फिल्म ‘बुलाकी’ प्रदर्शन गरिएको थियो । दोस्रो दिनको समापन समारोहमा कर्णालीका मौलिक कथा परिवेश र फिल्म विषयमा छलफल संचालन भएको थियो । जसमा साहित्यकार डाक्टर मधुसुदन गिरी, साहित्यकार मोतीराज बम, लेखक ओम रिजाल सहितको विज्ञ समूहले कर्णालीका  कथा परिवेश र फिल्म माथि छलफल संचालन भएको थियो ।  

यो महोत्सवले कर्णालीमा चलचित्र र पर्यटन विकासको ढोका खोल्ने विश्वास लिइएको छ ।