‘रङ्गेली’ सेन्सर पास, चाहिएन नगरपालिकाको चिठ्ठी

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘रङ्गेली’ सेन्सर पास भएको छ । फिल्मलाई चलचित्र जाँच पास समितिले ‘पिजी सर्टिफिकेट’ दिएको छ । 
अब, यो फिल्म हेर्नका लागि १६ बर्ष भन्दा कम उमेरका बालबालिकालाई बाबुआमाको साथ चाहिन्छ । 

यो फिल्मको नाममा आपत्ति जनाउँदै चलचित्र सेन्सर बोर्डले सर्टिफिकेट दिन आनाकानी गरेको थियो । विशेषगरि, मोरङको ‘रङ्गेली नगरपालिका’को नाममा फिल्म बनेकाले गर्दा पनि नगरपालिकाबाट अनुमति पत्र लिएर आउन सेन्सर बोर्डले निर्मातालाई भनेको थियो । 

सेन्सरले नाममा आपत्ति जनाएको खबर सार्वजनिक भएसँगै यसको सर्वत्र विरोध भएको थियो । फिल्मीकर्मीहरुले सेन्सर बोर्डको चर्को विरोध गर्दै ‘आमरण अनसन’मा बस्ने चेतावनी समेत दिएका थिए । तर, आइतबार भने बोर्डले कुनै पत्र नमागी फिल्मलाई अनुमति दिएको छ । 

फिल्मका निर्देशक अर्जुन सुवेदीले मेरो फिल्मसँग भने–‘आइतबार हामीलाई सेन्सर बोर्डबाट नै फोन आयो । करिब २–३ घन्टा मिटिङ भएपछि प्रमाणपत्र दिनुभयो । भोलि फिल्म रिलिज हुँदा समस्या पर्न सक्छ, अनुमति पत्र लिएर राख्दा राम्रो हुन्छ भन्ने कुरा उहाँहरूले गर्नुभयो ।’

सुवेदीका अनुसार, फिल्मलाई ‘रङ्गेली नगरपालिकाको’ पूर्ण समर्थन छ । फिल्मका केही संवादमा म्यूट गर्न सेन्सर बोर्डले निर्देशन दिएको छ । 

दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा’ लगायतका कलाकारको अभिनय रहेको यो फिल्म फागुनको २५ गतेबाट रिलिजमा आउँदैछ ।