‘अगस्त्य’को सस्पेन्सले दर्शक प्रभावित, को हुन् ‘गणेश’ ?
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘अगस्त्य’ले शुक्रबार ४५ र शनिबार ८५ प्रतिशतको अकुपेन्सीमा साथ दर्शकको साथ पाएको निर्माणपक्षले दाबी गरेको छ । फिल्म रिलिज भएपछि यसको सस्पेन्स पाटोले दर्शकलाई तानिरहेको छ ।
हलबाट निस्किएका अधिकांश दर्शकले पहिलो पाटोलाई औषत र दोस्रो पाटोलाई उत्कृष्ट भनेका छन् । देशभरका १११ हलमा रिलिज भएको फिल्म हेर्न शनिबार दर्शकको चाप राम्रो थियो । फिल्मका मुख्य कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन र मलिका महतले दर्शकसँग बसेर फिल्म हेरे । साथै, दर्शकको प्रतिक्रियाबाट उनीहरु फुरुङ्ग पनि देखिए ।
सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको वर्ड अफ माउथ बलियो भएकाले व्यापार बढ्ने दाबी निर्माणपक्षको छ । फिल्मको मेकिङ, एक्सन, कथावस्तु र कलाकारको अभिनयको दर्शकले खुलेरै तारिफ गरेका छन् ।
दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको भन्दै यसका मुख्य कलाकारहरु खुशी देखिए । फिल्म हेरेका दर्शकले नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको कामको पनि खुलेरै तारिफ गरिरहेका छन् । यस्तै, दर्शकले ‘च्याप्टर २’ पनि चाडै रिलिज गर्न निर्माणपक्षसँग आग्रह गरेका छन् ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिजन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा प्रमोद अग्रहरि, बेन बस्नेत, बिजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का लगायतका कलाकारको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माताको रुपमा छन् ।
फिल्ममा संजय लामाको छायांकन, सौरभ चौधरीको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी , श्री श्रेष्ठको एक्सन निर्देशन र एसडी योगीको संगीत छ ।
फिल्मको अन्तिममा ‘को हुन् गणेश’ भन्ने प्रश्नले भने दर्शकलाई कौतुहलता थपेको छ । मलिका महतले ‘गणेश’ भनेसँगै फिल्म सकिन्छ । दर्शकलाई भने ‘गणेश’ पात्र को हुन् भन्ने कौतुहलता थपिएको छ ।
प्रतिक्रिया