दीपक लेख्छन्–‘सेन्सलेस सेन्सर बोर्ड’

फिल्म ‘रङ्गेली’को नाममा नै आपत्ति जनाउँदै चलचित्र सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्विकार गरेपछि यतिबेला विवाद उत्पन्न भएको छ । फिल्मको नाममा पनि सेन्सर बोर्डले आपत्ति जनाउन थालेपछि बोर्डको चर्को विरोध भइरहेको छ ।

फिल्मीकर्मीहरुले पनि विकास बोर्डबाट पास भइसकेको नाममा आफ्नो क्षेत्राधिकार नाघेर सेन्सर बोर्डले फिल्म रोकेको भन्दै आपत्ति जनाएका छन् । 

यसैबिच, निर्माता, कलाकार तथा लेखक दीपकराज गिरीले सेन्सर बोर्डलाई ‘सेन्सलेस सेन्सर बोर्ड’ भनेका छन् । उनले लेखेका छन्–‘कश्मीर फाइल्स । उडता पन्जाब । दिल्ली बिल्ली । खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो रंगेली किन सेन्सरमा परेछ । सेन्सलेस सेन्सर बोर्ड ।’

सेन्सर बोर्डले यो फिल्मका मेकरलाई ‘रङ्गेली नगरपालिका’को अनुमति पत्र ल्याउन निर्देशन दिएको छ । यसपछि, सेन्सर बोर्डको शैलीप्रति चर्को विरोध भइरहेको छ ।