सेन्सर बोर्डको ‘बाघ’ले खाँदैछ, बोलिदिने को हो ?
चलचित्र जाँच पास समितिका कारण निर्माताहरू आहत हुने अवस्था सिर्जना भइरहेको छ । बारम्बार सेन्सर बोर्डका कारण निर्माताहरूलाई तनाव सिर्जना हुँदै आएको कुरा नौलो होइन । तर, अब त सेन्सर बोर्डले तयार पारेको २० बुँदे कार्यविधिका कारण फिल्म क्षेत्रमा नै तरंग उत्पन्न भएको छ ।
सेन्सर बोर्डले ल्याउनका लागेको २० बुँदे कार्यविधि पारित भएको खण्डमा फिल्म नै बनाउन नसकिने अवस्था सिर्जना हुने भन्दै फिल्मीकर्मीहरुले आवाज उठाइरहेका छन् ।
सेन्सर बोर्डले, नाममा समेत आपत्ति जनाउन थालेपछि नयाँ समस्या थपिएको छ । फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’को नाममा नै सेन्सर बोर्डले आपत्ति जनाएको छ । यो फिल्मले मोरङको ‘रङ्गेली’ नगरपालिकाको कथालाई उठाएको बताइएको छ । सेन्सर बोर्डले भने नगरपालिकाको सिफारिश पत्र आवश्यक पर्ने भन्दै जाँच पासको प्रमाणपत्र दिन मानेको छैन ।
सेन्सर बोर्डले फिल्म माथि चर्को नियम लादिरहेको देखिन्छ । चलचित्र विकास बोर्डले पास गरेर दर्ता गरेको नाममा सेन्सरले आपत्ति जनाउनु आफैंमा हास्यास्पद कुरा हो । यसमा सेन्सर बोर्ड आफ्नो अधिकार भन्दा बाहिर गएको देखिन्छ ।
यो विषयमा निर्देशक मनोज पण्डित भन्छन्–‘चलचित्र सेन्सर बोर्डले नाममा आपत्ति जनाएको कुराले मलाई आश्चर्य नै लागेको छैन । यो पहिलेदेखि नै हुँदै आएको हो । अहिले फिल्म क्षेत्रका मानिसहरू अरूलाई पर्यो भनेर बोल्दैनन् । तर, अरूलाई खाएको बाघले आफूलाई पनि खान्छ भन्ने सोच्नुपर्छ ।’
पण्डितका अनुसार, सेन्सर बोर्डको यही शैलीले अब फिल्म नै बनाउन नसकिने अवस्था आएको छ । उनले अगाडि भने–‘अब, सबै काम ठप्प पारेर फिल्म कसरी बनाउने, सिकाइदेउ भन्दै सेन्सर बोर्डलाई आग्रह गर्नुपर्ने अवस्था आएको छ । नेपाली फिल्म क्षेत्रमाथि सेन्सरको रवैया अत्ती नै भएको छ । सबै फिल्मीकर्मी बोल्नु पर्ने हो । तर, खै किन मौन छन् ।’
चलचित्र सेन्सर बोर्डले फिल्मको नाममा पनि आपत्ति जनाएपछि भोलिका दिनमा अन्य निर्माता पनि यसको मारमा पर्ने निश्चित छ । फिल्म क्षेत्रमा सेन्सर बोर्डको रवैयाले आतंक सिर्जना गरिरहेको छ । तर, फिल्म मेकरहरु भने यस विषयमा बोल्न सकेका छैनन् । भोलिका दिनमा आफ्नो फिल्मलाई पनि समस्या पर्ने डरले उनीहरुले बोल्न नसकेको वुझ्न सकिन्छ ।
तर, अभिव्यक्ति स्वतन्त्रताको माध्यमको रुपमा रहेको फिल्मलाई नै सेन्सर बोर्डले चारैतिरबाट कस्ने कोशिश गरिरहेको छ । यस विषयमा फिल्मीकर्मीले एकजुट भएर आवाज उठाउने बेला भएन र ?
प्रतिक्रिया