‘एक्टर’मा प्रदीपको जोडीको रुपमा दिव्या फाइनल

नायक दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले नयाँ फिल्म साइन गरेकी छिन् । यसअघि फिल्म ‘वरिष्ठ बलराम’ साइन गरेकी दिव्याले अब दोस्रो फिल्ममा पनि काम गर्ने पक्का भएको हो । 

दिव्या अमेरिकामा रहेकाले उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीले फिल्मका निर्माता थम्मन कुमार भण्डारीसँग कागजी संझौता गरेका थिए । दिव्याले भने अमेरिकाबाट भिडियो कलमा कुरा गरेको वुझिएको छ । 

यो फिल्ममा दिव्याले नायक प्रदीप खड्कासँग रोमान्स गर्ने वुझिएको छ । फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । 



फिल्मको छायांकन वैशाखबाट सुरु गर्ने तयारीमा निर्माणपक्ष छ । फिल्मको कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको वुझिएको छ । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् । 

राजन भुसालको निर्देशनमा तयार हुने यो फिल्ममा एनिस भुसाल र सार्थक केसी सह–निर्माताको रुपमा छन् । यो फिल्मलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्दैछन् । हाल फिल्म ‘पुजार सार्की’को छायांकनमा व्यस्त रहेका नायक खड्काले यसको छायाङ्कनपछि ‘एक्टर’को काम सुरु गर्नेछन् ।