‘सतीदेवी’लाई सहयोग गर्ने मन्त्री शर्माको प्रतिबद्धता

फस्टलुक पोस्टर रिलिज भएपछि चर्चामा आएको फिल्म ‘सतीदेवी’लाई नेपाल सरकारका प्रवक्ता तथा संचार मन्त्री रेखा शर्माले चासो दिएकी छिन् । 

फिल्मका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीसँग मन्त्री शर्माले भेट गर्दै फिल्मलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी हुन् । निर्देशक सुवेदीले मेरो फिल्मसँग भने–‘हाम्रो फिल्मप्रति चासो, अभिरुचि दिनुभएको छ । फिल्मले मौलिक, यथार्थपरक विषयवस्तु उठान गरेकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । फिल्मलाई हामीले जुन उद्देश्य लिएर बनाएका थियौं, त्यसमा सरकारको पनि साथ पाउँदा खुशी लागेको छ ।’

फिल्म ‘सतीदेवी’ले गाउँ समाजको अर्गानिक विषयलाई उठान गरेको सुवेदीले जानकारी दिए । यो फिल्ममा नायिका मलिका महत केन्द्रीय भूमिकामा छिन् । 

काठमाडौंमा बुधबार आयोजित स्पेशल शोमा पनि फिल्म हेर्ने अधिकांश पत्रकार र फिल्मीकर्मीले मलिकाको कामको प्रशंसा गरेका थिए । यस्तै, फिल्मले उठान गरेको विषयवस्तु बलियो भएको उनीहरुको भनाई थियो । 

निर्देशक सुवेदीले फिल्मको विदेश रिलिजको तयारी गरिएको बताए । साथै, चाँडै नै नेपालमा पनि फिल्म रिलिज गर्ने योजनामा आफू रहेको  उनको भनाई छ ।