‘रङ्गेली’का ‘भगवान् दादा’ अर्थात अर्पण थापा

अर्पण थापाको परिचय नायकबाट ‘खलनायक’मा परिणत हुँदैछ । पछिल्ला केही फिल्ममा उनले खल पात्रको रुपमा आफूलाई बलियो रुपमा स्थापित गरेका छन् । 

फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’मा अर्पण ‘भगवान दादा’को रुपमा देखिदैछन् । उनले, ग्याङ स्टार फिल्ममा अभिनय गर्नु आफ्नो रुची भएको बताए । फिल्मको भूमिकाबारे अर्पणले भने–‘भगवान् दादा मोरङ जिल्लाको रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो । उसले एउटा एरियालाई आफ्नो अधीनमा राखेको हुन्छ । प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ । मान्छेमा धेरै पावर भइसकेपछि पावरको लेभल बढ्दै जाने हो । त्यसको मात्रा बढ्दै गएपछि राजनीतिक कुरालाई पनि जोड्ने हो । मैले काम गरिरहँदा मलाई प्रशासनले र आफूले गरिरहेको कामले गाह्रो बनाउने अवस्था आउँछ । म रङ्गेलीको मुख्य प्रोटागोनिस्ट हुँ ।’

यो फिल्ममा उनले आफ्नो भूमिकालाई ‘टिपिकल भिलियन’को रुपमा चित्रण गरेका छन् । उनले, यो क्यारेक्टरमा बढी भेरिएसन भएको दाबी गरे । उनले भने–‘लुक्स र गेटअपका कारण दर्शकले मलाई युरोपियन लुक्स जस्तै देखिएको छ भन्नु हुन्छ। तर, यो फिल्ममा मलाई टिपिकल लोकल लुक्समा देख्नुहुन्छ । यो लुक्स मेरो अन्य लुक्स भन्दा फरक हो ।’

यो फिल्मको तयारी गर्दा आफूले धेरै पटक लुक परीक्षण गरेको उनले बताए । मान्छेहरू ग्याङस्टर किन बन्छन् त ? यसमा अर्पणको बुझाई अलिक फरक छ । ‘ग्याङस्टर बन्ने भन्दा पनि बनाउने हो । समाजले अथवा यदि म त्यो वातावरणमा बच्चैदेखि विकसित भइरहेको छु भने त्यो भन्दा बढी बाहिर सोच्दिनँ । त्योभन्दा बाहिर बन्ने हैसियत मेरो छैन भने कमजोरीको स्तरले सो बाटोमा ढल्किन सजिलै जाँदो रहेछ । तर यदि त्यो ठाउँमा तपाई विज्ञ भएर बस्नुभयो भने तपाइको त्यही विषयमा प्रोफेसन हल्का परिवर्तन गर्न खोज्दा रहेछन् ।’

फिल्मको क्यारेक्टरको चरित्र पुष्टि गर्दै उनले भने–‘भगवान दादा पनि बिस्तारै आफ्नो इमेज छोडेर राजनीतिमा लागे जस्तै वास्तविक जीवनमा ग्याङस्टरले गर्ने त्यही हो । नेपाल होस् या संसारको कुनै पनि कुनामा होस्, यो चलन नै हो । पावर भइसकेपछि त्यो पावरलाई प्रयोग गर्ने ठाउँ नै राजनीति हो ।’

अर्पणले ‘छड्के’ पछि विधा विशेष फिल्मको रुपमा ‘रङ्गेली’लाई लिएका छन् । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।