नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘महाजात्रा’
बर्षको प्रतीक्षित फिल्मको रुपमा रहेको ‘महाजात्रा’ चर्चामा छ । यो फिल्म चैत्र ९ गतेबाट रिलिजमा आउँदैछ । अब, फिल्मलाई नेपालसँगै विश्वका अधिकांश देशमा एकै दिनमा रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । षट्कोण आर्ट्सको निर्माणमा तयार भएको यो फिल्मलाई एमएसएम इन्टरटेन्मेन्टले ओभरसिजमा वितरण गर्दैछ ।
कम्पनीका अनुसार संयुक्त राज्य अमेरिका र क्यानडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रीब्युशन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्ट र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।
नेपाली फिल्मको बजार विस्तार र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका एमएसएम इन्टरटेनमेन्टले ‘जात्रा’का दुवै शृङ्खला दर्शकको मन जितेको कारण विश्वभर एकसाथ भव्य रुपमा प्रदर्शन हुने जनाएको छ । उक्त कम्पनीका सञ्चालक छत्र थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बनियाँको समूहलाई अन्यको तुलनामा बढी विश्वास गर्नुका साथै आशावादी रहने गरेको बताए ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसमा निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईले जानकारी दिएका छन् । यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङ्गीतकार, शमशेर लामा शृङ्गार, रूपक प्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक छन् ।
प्रतिक्रिया