‘उपहार’का निर्देशक देउजा भन्छन्–‘मलाई विश्वास गर्नुहोस्, निराश हुनु पर्दैन’
फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘उपहार’का निर्देशक ज्ञानेन्द्र देउजाले आफूमाथि विश्वास गर्न दर्शकलाई आग्रह गरेका छन् । मेरो फिल्मसँगको कुराकानीमा देउजाले भने–‘मैले पटक पटक भन्दै आएको कुरा पनि यही हो कि, फिल्म दर्शकलाई खुशी बनाउन तयार गर्ने हो । यो फिल्मले पनि दर्शकलाई खुशी बनाउँछ । मेरो कलाकार र प्राविधिकहरूको टिमले निकै मिहिनेत गर्नु भएको छ ।’
उनले दर्शकलाई मन पर्ने विषयवस्तुलाई फिल्ममा समावेश गरेको बताए । भने–‘मेरो फिल्मका कलाकारका फ्यानहरुले पनि उहाँहरूलाई ढुक्क भएर मन पराउँछन् । हरेक फिल्मको मेकिङमा उद्देश्य हुन्छ । मैले ठूलो वर्गलाई मन पराउने गरि फिल्म बनाएको छु । मेरो विषयवस्तुले दर्शकको मन छुन्छ । मैले यो कुरा कायम गर्नका लागि भरपूर मिहिनेत गरेको छु ।’
देउजाले यदि शुक्रबार र शनिबार दर्शकको संख्या कम भयो भने पनि आइतबार हल हाउसफुल हुने दाबी गरे । भने–‘मेरो फिल्म सबै बर्गका दर्शकका लागि हो । बच्चादेखि वृद्धसम्मले यो फिल्म मन पराउनुहुन्छ । यसैले, सबै क्षेत्रबाट दर्शक आउनु भयो भने हल भरिन्छ ।’
‘उपहार’ले समसामयिक विषयवस्तुलाई उठान गरेको उनको भनाई छ । भने–‘उपहारले ठूलो विषयवस्तुलाई उठाएको छैन । काठमाडौंको मैतीदेवीदेखि ठमेलसम्म घुम्ने हो भने पनि हामीले उठाएको बिषय देखिन्छ । दर्शकले फिल्ममा सुख–दुःख सबै पाउनुहुन्छ । फिल्म पूर्ण रुपमा मनोरञ्जनले भरिएको छ ।’
रेखा थापाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया