देशभर ‘अगस्त्य’लाई २ सय ५० बढी शोज, सुखद ओपनिङको अपेक्षा

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’माथि प्रदर्शकहरुको भरोसा उच्च देखिएको छ । यो फिल्मलाई देशभरका सिंगल तथा मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् । जसकाकारण, फिल्मलाई सुखद ओपनिङ गर्ने अवसर समेत मिलेको छ । 

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको हाइप पनि उच्च छ । फिल्म हेर्नका लागि दर्शकहरुमा व्यग्र प्रतीक्षा छ । यस्तो अवस्थामा, फिल्मले पाएको शोजमा दर्शकको उच्च अकुपेन्सी भएको खण्डमा निर्मातालाई लगानी चाँडै नै उठाउन सहज हुनेछ । यो फिल्मले देशभरका हलमा २ सय ५९ शोज पाएको निर्माणपक्षले बताएको छ ।

फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाभित्र १५ र उपत्यका बाहिर २९ शोज उपलब्ध गराएको छ । यस्तै, वान सिनेमाज्ले दुई चेन गरेर ८ शोज, बीग मुभिजले ३ शो, एफक्यूबले ३ शोज, बीएसआरले ४ शोज, आइएनआईका सबै चेनमा १२ शो उपलब्ध गराइएको छ । शोको अनुपात हेर्दा देशभरका १ सय ११ हलले २ सय ५९ शोज उपलब्ध गराएका छन् । 

विगत ३ महिनादेखि सुनसान रहेको फिल्म हललाई यो फिल्मले उठाउने अपेक्षा गरिएको छ । अर्कोतिर, नेपाली फिल्मको व्यापार सुस्ताएको अवस्थामा यो फिल्मले दर्शक हलसम्म तान्ने विश्वास धेरैले गरेका छन् । फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय छ । 

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माताको रुपमा छन् । संजय लामाको छायांकन रहेको फिल्ममा निर्देशक चौधरीको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन निर्देशन र एसडी योगीको संगीत छ ।