‘अगस्त्य’मा ‘त्रिपाठी’ बनेका प्रमोद भन्छन्–‘क्यारेक्टर भनेको बच्चा जन्माउनु जस्तै हो’

फागुनको १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘अगस्त्य’को अधिकांश हलमा बूकिङ खुलिसकेको छ । यो फिल्मले बक्स अफिसमा विष्फोटक व्यापार गर्ने प्रक्षेपण गरिएको छ । 

यो फिल्मका मुख्य कलाकार मध्येका एक प्रमोद अग्रहरिको चरित्रले पनि दर्शकलाई आकर्षित गरेको छ । यो फिल्ममा उनी ‘त्रिपाठी’ पात्रको भूमिकामा छन् । यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि नै यसको हाइप बढेको हो । जहाँ, अग्रहरिले बोलेको–‘म आज स्वयंम, म अन्त्य स्वयंम, जनम हुँ म, मरण स्वयंम, निर्माता हुँ, सँघार स्वयंम’ संवाद अहिले चर्चामा छ । प्रमोदका अनुसार ‘त्रिपाठी’ चरित्र ‘बाहुबली’ जस्तै छ ।

उसैको वरिपरी फिल्म घुमेको छ । प्रमोद भन्छन्–‘मैले गरेका कतिपय क्यारेक्टर आफैंलाई दमदार लाग्छन् । फरक त्यो क्यारेक्टर कसरी बाँचिरहेको छ भन्ने मात्र हो । किनकी, हरेक फिल्ममा मेरो चरित्र केही परक परिवेश र केही फरक शैलीको हुन्छ ।’

उनले, आफूले यस्तो क्यारेक्टर आफू जन्मेको ठाउँ परासीमा नदेखेको बताए । तर, नेपालका अन्य केही ठाउँ र भारतमा देखेको उनको भनाई छ । यो क्यारेक्टरका लागि आफूले निकै राम्रो तयारी गर्नुपरेको उनी सुनाउँछन् ।

उनले भने–‘क्यारेक्टर भनेको एउटा बच्चा जन्माउनु जस्तै हो नि । त्यसकारण, पहिरनदेखि सबै कुरा जुटाउन तयारी गरियो । मुख्य कुरा विचार हो, शारीरिक रुपमा देखिनु भन्दा पनि चरित्रको विचारको तयारी ठूलो कुरा हो । सबैभन्दा पावरफुल त आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो नि ।’

आफ्नो क्यारेक्टरले दर्शकलाई जोड्ने प्रमोदको दाबी छ । आफ्नो क्यारेक्टरका लागि आफूले शतप्रतिशत दाबी गरेको उनको भनाई छ । उनले भने–‘फिल्मको वर्कशप भएको थिएन । दुई चार पटक स्क्रिप्ट पढेँ । बीचमा बुबा बित्नु भएपछि घर आउनुपर्यो ।

उहाँको काम सकेर पछि फिल्म युनिटसँग जोडिएँ । फिल्मको स्क्रिप्ट पढिरहँदा आफ्नो क्यारेक्टरबाट के आउने वाला छ भन्ने मलाई थाहा थियो । त्यही अनुसार तयारी गरेँ ।’