‘गोर्खा वारियर’ले दर्शकको साथ पाएपछि भावुक भए मिलन र रितेश
फागुनको ११ गतेबाट रिलिजमा आएको फिल्म ‘गोर्खा वारियर’का नायक रितेश चाम्सले मिडियाकर्मीमाझ आफ्नो आँसु रोक्न सकेनन् । फिल्मको टिमले पत्रकारहरूलाई धन्यवाद दिन आयोजना गरेको पत्रकार सम्मेलनमा रितेशले आफ्नो जीवनको वास्तविक कथा सुनाउँदै गर्दा उनका आँखाबाट आँसु झरेका थिए ।
आफू बेलायती सेनामा भएको र अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको कुरा उनले लुकाउँदै आएका थिए । युद्धको दर्दनाक पीडा खोल्ने क्रममा उनको आँखा रसाएका हुन् ।
आफू एक सामान्य गाउँको परिवारमा जन्मिएको भन्दै रितेशले बेलायती सेनामा भर्ती हुनुबाहेक आफूसँग अरु विकल्प नभएको सुनाए । अफगानिस्तानको मरुभूमिमा जताततै धुलो उडेको संझदै उनले आफूहरू चढेको हेलिकोप्टरमाथि पनि तालिबानहरु गोली बारुद बर्साएको बताए ।
हेलिकप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा आफ्नो तिघ्रामा गोली लागेको आफूलाई नै थाहा नभएको उनको भनाई थियो । उनले आफू चार दिनपछि मात्र होसमा आएको र एउटा खुट्टा नचल्ने अवस्थामा पुगेको पीडा सुनाए । सोही विगत संझदै गर्दा उनी भावुक भएका हुन् ।
फिल्म ‘गोर्खा वारियर’ खेल्नुको कारणबारे उनले भने–‘मेरो हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो । उहाँ मलायको युद्धमा घाइते हुनु भएको थियो । म पनि बेलायतको सेना भएर अफगानिस्तानको युद्धमा घाइते भएको थिएँ । युद्धदेखि जनयुद्धसम्म गोली लागेका हजारौं सिपाहीहरूको नेतृत्व गर्दा उनीहरुको हौसला बढाउन मैले यो फिल्म खेलेको हुँ ।’
देशका १२० भन्दा बढी हलमा रिलिज भइरहेको फिल्मले राम्रो व्यापार गरिरहेको निर्देशक चाम्सले बताए । ४ दिनमा फिल्मले १ करोड ५१ लाख ग्रस कलेक्शन गरेको चाम्सको भनाई थियो ।
प्रतिक्रिया