संगीतकार सापकोटाले फोटो पत्रकारलाई दुव्र्यवहार गरेपछि पीजे क्लबको आपत्ती

संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले फोटो पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै फोटो पत्रकार क्लबले आपत्ति जनाएको छ ।
 
गायक तथा संगीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिने कार्यक्रममा अध्यक्ष सापकोटाले फोटो पत्रकारहरूलाई अवरोध खडा गरेको क्लबको भनाई छ । 

क्लबका महासचिव प्रकाश चन्द्र तिमल्सिनाले जारी गरेको विज्ञप्तीमा सापकोटाले क्लबका सदस्य तथा गोरखापत्र दैनिकका फोटो पत्रकार सुजन गुरुङलाई गलहत्याउँदै ‘यो कार्यक्रमको छायांकन गर्नु पर्दैन’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको उल्लेख छ । 

महासचिव तिमल्सिनाले विज्ञप्तीमा भनेका छन्–‘नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा मंगलबार भएको उक्त घटनाले प्रेस स्वतन्त्रता र सूचना संकलन गर्न पाउने पत्रकारको संवैधानिक मौलिक हकमाथि हस्तक्षेप गर्न खोजिएको क्लबको ठहर छ । आम सरोकारको विषयमा समाचार तथा फोटो संकलनमा वाधा पुर्याउन खोज्नु कुनै पनि अवस्थामा स्वीकार्य छैन ।’

क्लबले अध्यक्ष सापकोटासँग गल्ती स्विकार गर्दै क्षमा याचना गर्न पनि माग गरेको छ ।