बरिष्ठ गायक भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन

बरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ बर्षको उमेरमा निधन भएको छ । उनको सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको वुझिएको छ । 

अपरान्ह ४ बजे आचार्यको अक्सिजनको तह कम भएको थियो । यसपछि, दुई छोराहरु सत्यराज र स्वरुपराज आचार्यले अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको थियो । आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेबाट प्रज्ञा प्रतिष्ठान परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिनेछ । उनलाई राष्ट्रिय सम्मानका प्रदान गरिनेछ । 

गायक तथा संगीतकार आचार्यले नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीतहरु दिएका छन् । उनका ‘मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् वुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा’ लगायतका गीतहरु चर्चित छन् । 

गायक आचार्य लामो समयदेखि मुखको क्यान्सरबाट पनि पीडित थिए । उनले ४ सय बढी गीतमा स्वर र संगीत दिएका छन् । 

गायक तथा संगीतकार आचार्यको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणिय क्षती भएको छ । नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरुले सामाजिक संजालबाट उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।