कस्तो चल्दैछ ‘गोर्खा वारियर’ ?

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘गोर्खा वारियर’को व्यापार सुखद देखिएको छ । फिल्मले बम्पर ओपनिङ नहाने पनि शुक्रबार, शनिबार र आइतबार भने राम्रो दर्शक पाइरहेको वितरक करण श्रेष्ठले जानकारी दिएका छन् ।

सामाजिक संजालमा फिल्मका मेकरले विभिन्न हलमा दर्शक हाउसफुल भएको भन्दै पोस्ट गरिरहेका छन् । 

यो विषयमा वितरक क्रेजी भन्छन्–हलमा दर्शकको उपस्थित राम्रो छ । लाहुरेको परिवारहरू समूह समूह बनाएर आइरहनुभएको छ । धेरै ठाउँमा र्‍याली निस्किएको छ । दैनिक दर्शकको संख्या बढिरहेको छ ।’

वितरक क्रेजीका अनुसार, फिल्मले तीन दिनमा १ करोड माथिको ग्रस कलेक्शन गरिसकेको छ । मंगलबार, बुधबार र बिहिबारसम्म विभिन्न हलका शोजहरु हाउसफुल भइसकेका छन् । 

फिल्मको व्यापारलाई लिएर निर्देशक मिलन चाम्स पनि उत्साहित देखिएका छन् । विशेषगरि, यतिबेला आफ्नो पुर्खाको कथा हेर्नका लागि भन्दै लाहुरे समुदायका दर्शक हलमा बढी आएको देखिएको छ । दर्शक हलबाट निस्कँदा रुँदै निस्किएका छन् । 

यो फिल्मले समीक्षकबाट मिश्रित र दर्शकबाट सुखद प्रतिक्रिया पाइरहेको छ । फिल्म लामो रेशको घोडा बन्न सक्यो भने नेपालबाट लगानी सुरक्षित गर्न सक्छ ।