दया भन्छन्–‘रङ्गेली पैसा र पावरको पछि लाग्ने पात्रको कथा हो’

फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रङ्गेली’का मुख्य नायक दयाहाङ राई र मुख्य नायिका मिरुना मगर अहिले अर्को फिल्म छायांकनका लागि काठमाडौं बाहिर छन् । फिल्मको प्रचारमा प्रत्यक्ष उपस्थित हुन नपाएका उनीहरुले भिडियो सन्देश पठाउँदै फिल्मको बारेमा बोलेका छन् । 

फिल्ममा दयाले ‘विजय’ नामक पात्रको भूमिकामा काम गरेका छन् । दयाले भने–‘बिजय सामान्य मानिस हो । तर, असामान्य जीवन भोग्छ । जहिले पनि उसको उद्देश्य भनेको पैसा र पावर नै हो । यी दुबै कुराले उसको जीवनमा प्रभाव पारेको छ । अहिलेको समयमा युवाहरू पनि पैसा र पावरकै पछि लागेका छन् । आम मानिसको सोच नै यसकै पछि लाग्ने छ ।’

दयाले कही कतै आफू पनि यसको पछि दौडिएको स्विकार गरे । भने–‘यो फिल्ममा साथीहरू र अग्रजहरूले विजयलाई दिएको साथ र मायाको कथा राम्रो छ । यस्तै, उसलाई आफ्नो प्रेमिकाले पनि निकै साथ दिएकी छिन् । तर, यति हुँदा हुँदै पनि मानिसहरूले उसको कमजोरीलाई हतियार बनाएका छन् । जसले हतियार बनाएको छ, उसको लागि कसरी फर्किएर आउँछ भन्ने कथा फिल्ममा छ । कसैलाई पनि प्रयोग गर्न हुँदैन भन्ने कथाको पाटो मलाई विशेष मन परेको हो ।’

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको यो फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको पनि अभिनय छ । फिल्मको ट्रेलरलाई दर्शकले मन पराएका छन् । अब, फिल्मलाई पनि दर्शकले रुचाउने विश्वास निर्माणपक्षको छ ।