सौगातलाई प्रश्न–‘तपाइका केही फिल्म ब्रेकसम्म पनि हेर्न नसकिने किन हुन्छन् ?’
७ बर्षको उमेरदेखि नै फिल्म क्षेत्रमा केही गर्छु भनेर सपना बोकेका नायक सौगात मल्ल आजको समयका सुपरस्टार हुन् । नेपालमा उनी जस्तो अभिनयमा विविधता ल्याउन सक्ने नायक शायदै अरु छैनन् । सौगातको फिल्म भनेपछि दर्शकमा पनि आशा उच्च हुन्छ ।
तर, सौगातको फिल्म रोजाइमा कहिलेकाही दर्शकलाई पनि निकै समस्या पर्ने गरेको छ । सौगातका थुप्रै फिल्मले बक्स अफिसमा पानी पनि भन्न पाएका छैनन् । कतिपय फिल्म त दर्शक र समीक्षकले ब्रेकसम्म हेर्न पनि मुश्किल पर्ने खालका छन् ।
मेरो फिल्मको यही प्रश्नमा सौगातले भने–‘म आफै पनि मेरा कतिपय फिल्म ५–१० मिनेट पनि हेर्न सक्दिनँ । विशेषगरि, मैले साथीहरूका लागि कतिपय फिल्म गर्छु । जसले, दुखको बेला मलाई निकै साथ दिएका थिए । मैले काम गर्दा उसले पनि अन्य काम पाउँला कि भन्ने लाग्छ । त्यही भएर काम गर्ने गरेको छु ।’
सौगातले अगाडि भने–‘कतिपय फिल्मको पहिलो ड्राफ्ट सुन्दा ठिकै लाग्छ । तर, त्यो स्क्रिप्ट फस्ट ड्राफ्टमै सीमित होला जस्तो लाग्दैन । फिल्म साइन गरेर हामी अरु फिल्ममा काम गर्छौ । तर, एक बर्षपछि आउँदा पनि ह्रस्व दीर्घ बाहेक फिल्मको स्क्रिप्ट परिवर्तन हुँदैन । यसपछि, आफूलाई नै दिक्क लाग्छ । तर, हाम्रो धर्म नै आफ्नो भूमिकामा डुबेर काम गर्ने हो । हामीसँग आफ्नो धर्म निर्वाहा गर्नु बाहेक अरु विकल्प नै रहँदैन ।’
सौगातले अगाडि भने–‘कमजोर स्क्रिप्टमा काम गर्दा मलाई कति दुःख लाग्छ होला, तपाई आफै भन्नुहोस् न । सात बर्षको उमेरदेखि नै फिल्म खेल्छु भनेको एक जना मानिसलाई आफ्नो रोजाई गलत हुँदा दिक्क त लागिहाल्न नी । तर, पनि काम गर्नु बाहेक हामीसँग अरु के विकल्प छ र होइन ?’
सौगातले अभिनय गरेको फिल्म ‘अगस्त्य’ फागुनको १८ अर्थात् आउँदो शुक्रबारदेखि रिलिजमा आउँदैछ । यो फिल्मको ट्रेलर र टिजर भन्दा फिल्म १० गुणा राम्रो भएको सौगातको दाबी छ ।
प्रतिक्रिया