आँचलको ‘राजमहल र पञ्चामृत’ कता अड्कियो ?
नायिका आँचल शर्माको मुख्य भूमिका रहने फिल्म ‘राजमहल’को छायांकन अनिश्चित बनेको छ । यो फिल्मको केही महिना अगाडि नै पाँच तारे होटल याक एण्ड यतीमा शुभसाइत गरिएको थियो । तर, शुभसाइत समारोह भएको केही महिना बितिसक्दा पनि फिल्मको छायांकन सुरु हुन सकेको छैन । वुझिएअनुसार, अहिले यो फिल्मका कलाकारहरूलाई पनि काम कहिलेबाट सुरु हुन्छ भन्ने केही पनि जानकारी दिइएको छैन ।
सविन कुमार तोलाङ्गीको निर्देशनमा तयार हुने भनिएको यो फिल्ममा आँचलको साथमा रमेश उप्रेती, सलोन बस्नेत, मिथिला शर्मा, सिम्रन पन्त, मिस पबी लगायतका कलाकारले अभिनय गर्ने पक्का भएको थियो ।
यो फिल्मले राजमहल भित्रको कथा उठान गर्ने बताइएको थियो । पौषमा शुभसाइत गर्दै यसको निर्माणपक्षले माघको पहिलो साताबाट छायांकन प्रारम्भ गर्ने बताएको थियो । तर, फिल्मको छायांकन नै अन्योलमा देखिएको छ ।
यता, आँचलले नायक धिरज मगर र सौगात मल्लसँग काम गर्न लागेको फिल्म ‘पञ्चामृत’ पनि घोषणामै सीमित भएको छ । मुस्कान ढकालको निर्देशनमा बन्ने भनिएको यो फिल्म पनि तयार हुन सकेको छैन ।
तर, आँचलको व्यस्तता भने कम भएको छैन । हालै मात्र फिल्म ‘डिग्री माइला’को छायांकन सकाएकी आँचल अहिले फिल्म ‘एक मुठ्ठी बादल’को वर्कशपमा व्यस्त छिन् । यो फिल्मको छायांकन सकेपछि आँचलले केही दृश्यको छायांकन बाँकी रहेको फिल्म ‘बर एण्ड बधु’को छायांकन सक्ने योजना बनाएकी छिन् । उनले, यसपछि ‘पिताम्बर र दुःखी आत्मा’का लागि सेड्यूल पनि तयार पारेकी छिन् ।
प्रतिक्रिया