समुन्द्रको फिल्ममा निश्चल र एलिजाको जोडी

फिल्म ‘गून्यु चोलो’ रिलिज नहुँदै निर्देशक समुन्द्र भट्टले नयाँ फिल्म निर्देशन गर्ने भएकी छिन् । वैशाख महिनाबाट छायांकनमा जाने फिल्मको नाम भने तय गरिएको छैन । लभ स्टोरी र क्राइम थ्रिलर जनरामा यो फिल्म बन्नेछ । यो फिल्ममा नायिका एलिजा गौतमले नायक निश्चल खड्कासँग रोमान्स गर्ने पक्का भएको छ । 

निश्चलले फिल्म ‘लण्डन टू पेरिस’मा काम गरिसकेका छन् । यता, एलिजाको भने ‘अनुराग’मा काम गरेपछि नयाँ फिल्ममा काम गर्ने अवसर मिलेको छैन । द स्काई ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यो फिल्मले एलिजा र निश्चलको जोडीलाई फिल्म क्षेत्रमा स्थापित गर्ने दाबी समुन्द्रको छ । 

एलिजाले फिल्म ‘घुइँचो’ साइन गरेकी थिइन् । फिल्मको भव्य कार्यक्रम गर्दै घोषणा भएपनि निर्माण भने हुन सकेन । यसपछि, एलिजाले फिल्म भन्दा म्युजिक भिडियो र राजनीतिलाई नै बढी फोकस गर्दै आएकी थिइन् । 

निश्चलले पनि फिल्म ‘पशुपति प्रसाद २’को एउटा गीतमा नृत्य गरे । डेब्यू फिल्म ‘लण्डन टू पेरिस’ नै निर्माण हुन लामो समय लागेपछि निश्चललाई समस्या भएको थियो ।