‘डिग्री माइला’को ‘सुस्त सुस्त’ गीतमा आँचलसँग रोमान्टिक दया

चैत्रको ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ । फिल्मको टिजर सार्वजनिक भएको ४ दिनपछि नै निर्माणपक्षले पहिलो गीत सार्वजनिक गरेको हो । 

एसडी योगीको स्वर तथा संगीत रहेको यो गीतमा दिल्लु चापागाँइको शब्द छ । गायकीमा योगीलाई विज्ञानी पराजुलीले साथ दिएकी छिन् । 

गीतको भिडियोमा मुख्य कलाकारद्धय नायक दयाहाङ राई र नायिका आँचल शर्मालाई रोमान्टिक देखाइएको छ । युमी बलामीको कोरियोग्राफी रहेको भिडियोमा रेनशा वान्तवा राई कोरियोग्राफी निर्देशकको रुपमा छिन् । 

यो भिडियोमा रेनशाले दया र आँचललाई रोमान्टिक बनाएकी छिन् । रोमान्टिक गीतको भिडियोमा संभवत पहिलो पटक दया यति धेरै नायिकासँग खुलेका छन् । 

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथालाई प्रस्तुत गरेको छ ।

यही नाममा नायक दयाहाङले केही बर्ष अगाडि नाटक समेत तयार पारेका थिए । सोही नाटकको नाममा आधारित रहेर फिल्म तयार पारिएको छ । 

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मस्सँग मिलेर यो फिल्म तयार गरेको हो । यो फिल्ममा बिजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा नेमिष श्रेष्ठको छायांकन, शिवराम श्रेष्ठ र राइली एस सिनको छायांकन छ ।