दुई घटनाको कथा भन्ने ‘अगस्त्य’मा काम गर्दा सौगातलाई किन भयो असहज ?

फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’ प्रतीक्षित बनेको छ । आउँदो साताको शुक्रबारदेखि रिलिजमा आउन लागेको यो फिल्मको कलाकारहरू पनि प्रचारमा दौडिरहेका छन् । 

मिडिया कुराकानीमा फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका २ घटनालाई आधार बनाएर फिल्म लेखेको बताए । उनका अनुसार, लकडाउन अगाडि र लकडाउन पछाडिका दुई घटनामा टेकेर यो फिल्म तयार पारिएको छ । 

उनले पत्रकारहरूसँग भने–‘यो फिल्म दर्शकका लागि सिनेम्याटिक छ । उहाँहरुले अहिलेसम्म नभनिएको समाजको कथा यो फिल्ममा पाउनुहुनेछ ।’ दर्शकले राम्रो फिल्मलाई माया गरेको भन्दै ‘अगस्त्य’ एक उत्कृष्ट फिल्म भएको दाबी निर्देशकको छ । फिल्मको टिजर र ट्रेलर हेर्दा कथा मधेसको जस्तो लागेपनि यो समग्र देशको कथा भएको निर्देशक चौधरीको भनाई थियो ।

नायक सौगात मल्लले फिल्ममा मानसिक रुपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । उनले भने–‘म आफैं पनि झन्डै झन्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहा छ । मैले पनि त्यसलाई अनुभव गरेको छु । चरित्र निर्वाह गर्न शारीरिक भन्दा मानसिक रुपमा गरिने काम अप्ठ्यारो हुन्छ ।’

सौगातले अगाडि भने–‘२५ दिनसम्म मानसिक रुपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा मलाई असहज भएको थियो ।’

नायक नाजिर हुसेनले पनि आफ्ना लागि यो फिल्म विशेष रहेको सुनाए । उनले भने–‘फरक फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई यो फिल्मबाट पुरा गरेको छु ।’

नायिका मलिका महत्तले अग्रज कलाकारहरूसँग काम गर्दा दबाबको महशुश भएपनि धेरै कुरा सिक्न पाइने बताइन् । उनले, अग्रज कलाकारहरूबाट आफूले शक्ति पाएको तर्क गरिन् । 

फिल्म ‘अगस्त्य’को फस्टलुक, टिजर र ट्रेलरपछि दर्शकको अपेक्षा पनि उच्च भएको छ । निर्माणपक्षले फिल्म हेर्दा दर्शकले अपेक्षा गरेका हरेक कुरा पाउने तर्क गरेको छ ।