खगेन्द्र उर्फ ‘मेयर’ भरतबहादुर थापा

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतबहादुर थापाको जीवनीमा आधारित रहेर तयार हुन लागेको फिल्म ‘मेयर’को छायांकन प्रारम्भ गरिएको छ । काठमाडौंबाट यो फिल्मको छायांकनको सुरुवात गरिएको हो । केही दिन काठमाडौंमा छायांकन गरेर यसको टिम सर्लाही पुग्नेछ । 

दीपेन्द्र के खनालको निर्देशनमा तयार हुने यो फिल्मको शीर्ष भूमिकामा नायक खगेन्द्र लामिछानेले काम गर्दैछन् । फिल्मको छायांकन प्रारम्भ भएको दिनमै उनको लुक्स सार्वजनिक गरिएको छ । 

खगेन्द्रले यसअघि गरेका फिल्ममा भन्दा यो फिल्ममा उनको लुक्स फरक देखिएको छ । फिल्ममा उनको साथमा वर्षा राउत, अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश वुढाथोकी, अर्विशा थापा, संजोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसी लगायतका कलाकारको अभिनय छ । 

निर्देशक खनाल नै कार्यकारी निर्माता रहेको फिल्ममा शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन, जयन जे वाइवा र कल्याण सिंहको संगीत, महेश दवाडीको पटकथा छ । 

यो फिल्मले भरतबहादुर थापाले बागमती नगरपालिकाको विकासमा गरेको योगदान, उनको संघर्षको कथा भन्नेछ । साथमा, भरतबहादुर थापाको जीवनमा आएका विभिन्न आरोपहरूको समेत फिल्मले जवाफ दिने बताइएको छ ।