‘उपहार’ले दर्शकको आखालाई शितलता दिन्छः रेखा थापा

नायिका रेखा थापाले फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘उपहार’ले दर्शकको आँखालाई शित्तलता प्रदान गर्ने बताएकी छिन् ।

अमेरिका रहेर पनि रेखाले यो फिल्मको प्रचार गरिरहेकी छिन् । रेखाले पाँच बर्ष अगाडि फिल्म ‘मालिका’मा काम गरेकी थिइन् । पाँच बर्षपछि दर्शकमाझ आउन लागेकी रेखाले भनिन्–‘उपहार दर्शकको मन मष्तिष्कमा बस्ने गरी लेखिएको र बनाइएको छ । नेपाली फिल्म नियमित हेरिरहने र कहिल्यै नेपाली नहेर्ने दर्शकले पनि यो फिल्म मन पराउनुहुन्छ । यो फिल्म हेर्दा आम दर्शकले नयाँ उर्जा प्राप्त गर्नुहुन्छ ।’

रेखाका अनुसार, यो फिल्मले सामाजिक विषयवस्तुलाई मनोरञ्जनको भाषामा भनेको छ । नेपाली फिल्मको कथावस्तु एउटै भयो भन्ने आरोप आफूले सुनेको बताउँदै रेखाले ‘उपहार’ले दर्शकको आँखालाई शित्तलता दिने दाबी गरिन् ।

फिल्ममा हरेक मान्छेको यात्रामा भेटिने सफलता र असफलता तथा प्रेम र विछोडको कथालाई प्रस्तुत गरिएको उनको भनाई छ । फिल्मले नारी मात्र नभएर पुरुष पनि पीडित छन् भन्ने कथालाई देखाएको रेखाले बताइन् । 

रेखाले भनिन्–‘५–१० बर्षयता नेपाली फिल्ममा देखिँदै आएका कथा भन्दा उपहारको कथा फरक छ । हामीले हिट भन्दा पनि दर्शकले मन पराउने कथामा फिल्म बनाएका छौं ।’

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्ममा रेखाको साथमा पूजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन लगायतका कलाकारको अभिनय छ ।