साम्राज्ञी र धिरजको ‘रुमानी रङ्ग’को निर्माण घोषणा

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘रुमानी रङ्ग’ निर्माणको घोषणा गरिएको छ । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिसँग आविष्कार बाहु संचार प्रा.लिको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।

जीएम ठकुरीको प्रस्तुतिमा बन्न लागेको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । फिल्ममा अनिल योञ्जनको निर्देशन रहनेछ । अनिलले यस अगाडि फिल्म ‘डायरी’ निर्देशन गरेका थिए । फिल्ममा अनिलकै पटकथा तथा संवाद पनि रहनेछ । कार्यकारी निर्माता ठकुरीको कथा रहेको फिल्ममा महेश पौडेलको छायांकन रहनेछ । 

यो फिल्ममा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा साम्राज्ञी र धिरज दुबै जना उपस्थित थिए । 



साम्राज्ञी र धिरजले यस अगाडि फिल्म ‘इन्टु मिन्टु लण्डनमा’मा एकसाथ काम गरेका थिए । यसपछि, यी दुइको जोडीको सर्वाधिक चर्चा पनि भएको थियो । 

कार्यक्रममा बोल्दै साम्राज्ञीले फिल्मको कथा मन परेपछि आफूले काम गरेको सुनाइन् । धिरजसँग काम गर्न पाउँदा आफू उत्साहित भएको उनको भनाई थियो । यस्तै, नायक धिरज मगरले पनि फिल्मको अफर आफूलाई आएपछि कथा सुनेको र निकै मन परेपछि साइन गरेको सुनाए । 

निर्देशक योञ्जनले फिल्मले प्रेमलाई कमेडीको लयमा भन्ने बताए । उनका अनुसार, फिल्मले दुई परिवारको कथालाई प्रस्तुत गर्नेछ । फिल्ममा साम्राज्ञी शाह परिवारको छोरीको भूमिकामा देखिदैछिन् भने धिरज मगर परिवारको छोराको भूमिकामा देखिदैछन् । 

फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ । आउँदो बर्षको वैशाख महिनाबाट फिल्मको छायांकन सुरु गर्ने निर्माणपक्षको भनाई छ । 

फिल्म ‘रुमानी रङ्ग’ले धिरज र साम्राज्ञीको जोडीलाई फेरि दर्शकमाझ ल्याउने भएको छ । ‘इन्टु मिन्टु लण्डनमा’बाट सुपरहिट भएको यो जोडीका लागि ‘रुमानी रङ्ग’ विशेष हुनेछ ।