‘गोर्खा वारियर’को प्रिमियरमा नेतादेखि कलाकारसम्मको भीड, सुखद प्रतिक्रिया

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’को बुधबार बेलुकी भव्य प्रिमियर गरिएको छ । 

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म हेर्नका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन, पर्यटन मन्त्री सुदन किराँती लगायत पुगेका थिए ।

फिल्म हेरेपछि अध्यक्ष ओलीले यसको प्रशंसा गरे । उनले, यो फिल्मले नेपालीहरूको इतिहास बोकेको भन्दै सबैले हेर्नुपर्ने सुझाव दिए । 

उनले, फिल्मले आफूलाई भावुक बनाएको बताए । निकै तामझामसँग आयोजना गरिएको प्रिमियरमा पुगेका अधिकांश नेता, फिल्मीकर्मीले यसको कथावस्तु, प्रस्तुति उत्कृष्ट रहेको बताएका थिए । आम नेपालीले गर्व गर्न सक्ने फिल्म बनेको भन्दै सबैले प्रशंसा गरेका थिए ।

फागुन ५ मा धरान, फागुन ७ मा पोखरामा प्रिमियर गरेपछि यसको निर्माणपक्षले काठमाडौंमा भव्य प्रिमियर गरेको हो । 

फिल्म हेरेर निस्किएका कलाकार हरिवंश आचार्यले गोर्खालीहरुले वीरताको कथा फिल्ममा देखाइएको भन्दै यसको वेदना र छटपटीले मन छुने तर्क गरे । पर्यटनमन्त्री किराँतीले फिल्म हेर्दा आफूले युद्धमा शहीद भएका हजुरबुबा र बुबालाई स्मरण गरेको बताए । 

प्रिमियरमा सुखद प्रतिक्रिया  पाएपछि निर्देशक चाम्स दंग छन् । यस्तै, फिल्मका मुख्य कलाकार रितेश चाम्स पनि दंग देखिएका छन् । उनको कामको पनि निकै प्रशंसा भएको थियो । यो फिल्ममा विजय लामा, रेबिका गुरुङ, रेअर राई, कविता आले लगायतको पनि अभिनय छ ।